ताप्लेजुङमा बोलेरो दुर्घटना, चालकसहित नौजना घाइते


काठमाडौं, ९ जेठ । ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित नौजना घाइते भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बूदेखि सदरमुकाम फुङ्लिङतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।

नेपाल प्रहरीको ताप्लेजुङ जिल्ला प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार सोही गाउँपालिका–२ सान्थाक्राको साक्फारामा ज १ च १३१७ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दुर्घटना भएको हो ।

शुक्रवार बिहान ११ः१५ बजेतिर भएको जिप दुर्घटनामा परी मेरिङ्देन गाउँपालिका–६ नाल्बुका चालक २५ वर्षीय साङ्गे शेर्पा घाइते भएका छन् । सवारी चालक शेर्पाको टाउको चोट लागेको छ । उनका अनुसार घाइते सबैको टाउको, हात, खुट्टा, चिउँडो, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।

सवारी दुर्घटनामा परी घाइते हुनेलाई मेरिङ्देन गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ लगिँदै गरिएको पनि प्रहरीले जनाएको छ । नौजना यात्रु सवार उक्त जिप दुर्घटना भएको खबर भएपछि तत्काल इलाका प्रहरी कार्यालय चाँगे दोभानबाट प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।