विश्व दूध दिवसमा कविता प्रतियोगिता हुने


काठमाडौं । दुध तथा दुग्धजन्य पदार्थको उपयोगितासम्बन्धी सचेतनामूलक अन्तरविद्यालय कविता प्रतियोगिता हुने भएको छ । राजधानीको ब्रेनल्याण्ड स्कूल (बुढानीलकण्ठ–९) मा आगामी जेठ १३ गते उपत्यकाव्यापी प्रतियोगिता आयोजना हुने भएको हो ।

नेपाल डेरी एसोसिएशन (एनडीए) ले विगतका वर्षमा जस्तै यस वर्ष पनि विश्व दूध दिवस ११ औं श्रृंखला मनाउने अवसरमा ‘दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं’ भन्ने मूल नाराका साथ सरोकारवाला सबैको सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

विश्व दूध दिवस यसपटक जेठ १८ मा राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला सबैको संयुक्त आयोजना यस वर्ष मकवानपुरको हेटौंडामा राष्ट्रियस्तरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा मन्त्रीको विशेष उपस्थितिमा विभिन्न कार्यक्रमसहित मनाउने कार्यक्रम छ । यसै सन्दर्भमा डेरी एसोसिएशन नेपालले पनि विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्न गइरहेको हो ।

विद्यालय तहका विद्यार्थीमा दूध तथा दुग्धजन्य पदार्थको मौलिक तथा शारीरिक महत्त्व, आवश्यकता र मानव स्वास्थ्यका लागि यसका उपयोगिताबारे जानकारी अभिवृद्धि गर्ने उद्देश्यका साथ बालबालिकाको अन्तर प्रतिभा प्रस्फुटनका लागि कविता प्रतियोगिता आयोजना गरिएको डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले बताए ।