काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा जोसुकै संलग्न भएको भए पनि उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्ता घटना आजमात्रै नभएर यसअघि पनि छिटफुट आउने गरेको बताए । उनले गृहमन्त्री रमेश लेखकलाई संसद्मा आफ्नो जवाफ दिने मौका दिनुपर्ने र यदि उक्त घटनामा उनी जोडिएको हो भने कारबाहीको भागिदार हुनुपर्ने बताए ।
‘पर्सी संसद्मा उहाँको उत्तर हेरौं न । गृहमन्त्रीजीले संसद्मा १३ गते सबै कुरा भन्छु, आफ्ना कुरा राख्छु भन्नुभएको छ । कसैलाई मौका नदिने भन्ने कुरा आउँदैन । आफ्ना कुरा राख्न पाउनुपर्छ । सत्यतथ्य बाहिर आउनुपर्छ । यो अपराधमा संलग्न जोसुकै हुन्, कारबाहीको दायरामा आउनुपर्छ,’– उनले भने ।
साथै, भिजिट भिसा प्रकरण र अवैध रुपमा महिला कामदारलाई विदेश पठाउने प्रकरणमा श्रम मन्त्रालय पनि जोडिएको सुनुवामा आएको उनले बताए । नेता खतिवडाले श्रममन्त्री शरदसिंह भण्डारीले पनि संसद्मा उभिएर आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए ।
‘श्रम मन्त्रालयबाट पनि विदेश पठाउनका लागि लुभुमा चार रोपनी जग्गामा टे«निङ सेन्टर खोलिएको र त्यहाँ टे«निङ दिने गरिएको र बाहिर पठाउने काम गरिएको भन्ने सुनुवामा आएको छ । भिजिट भिसाको नाममा अथवा महिला कामदारको नाममा बाहिर पठाउनका लागि प्रयास गरिएकोमा श्रममन्त्रीले पनि संसद्मा आएर जानकारी दिनुपर्छ,’– उनले भने ।




प्रतिक्रिया