‘कम्बोडियामा केपी ओलीको ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड, पछि लाग्ने माधव-झलनाथ’


काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा केपी ओलीको ३२ अर्ब लगानी छ भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हल्ला फिँजाएको आरोप लगाएका छन् । आज (आइतबार) नेकपा (एमाले) बाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्बोडियामा लगानी रहेको भनी भ्रम प्रचण्डले सिर्जना गरेको र त्यसको पछाडि माधव नेपाल र झलनाथ खनाल लागेको बताएका हुन् ।

‘भ्रष्टाचारीहरुले हामी भ्रष्टाचारको विरुद्धमा लड्नेहरुलाई नै उल्टै झुठा मुद्दा लगाएर जेल हाल्नेसम्मका षड्यन्त्र गरे । बदनाम गर्ने, चरित्र हत्या गर्ने यो सबै तथाकथित वामपन्थी भनिएकाहरु हुन् । कम्बोडियामा केपी ओलीको ३२ अर्ब छ भनेर हल्ला फिजाउने को हो भन्दा– प्रचण्ड, अरु कोही होइन । त्यसको पछाडि कुद्ने माधव नेपाल र झलनाथ खनाल । के त्यो साँचो कुरा हो ?’ प्रश्न गर्दै उनले भने ।

साथै, एमालेले बाहेक अरु कुनै पार्टीले पनि देशको विकास गर्न नसक्ने उनको दाबी छ । एमालेले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारा पूरा भएरै छाड्ने उनले बताए । जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अगाडि सारेर एमालेले कम्युनिष्ट आन्दोलनलाई जोगाउँदै अगाडि बढाएको उनको दाबी छ । एमाले अध्यक्षसमेत रहेका ओलीले सामाजिक सुरक्षाका क्षेत्रमा एमालेले समुचित ढंगले व्याख्या गरेको बताए ।

साथै, अहिले सहकारीका लुटेरा र ठगहरुले उल्टै एमालेका नेताहरुमाथि औंला ठड्याएको उनको आरोप छ ।