काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले मलजल गरिरहेको आरोप लगाएका छन् । आज (आइतबार) एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी अराजकताको पक्षमै रहेको बताएका हुन् । उनले माओवादीलाई ‘सोकल्ड’ वामपन्थीको संज्ञा दिए । उनले अहिले भर्खरै ३५÷३६ वर्षका मान्छेलाई राजतन्त्र कस्तो थियो भनेर बुझाउन आवश्यक रहेको पनि बताए । उनीहरुलाई त्यो कुरा नेकपा (एमाले) मात्रै बुझाउन सक्ने पनि ओलीको जिकिर छ ।
‘उसको कुनै जनआधार ग्रामिण क्षेत्रमा केही पनि छैन । सहरमा केही त्यस्तै खालका जबलेस, उरन्ठेण्उलालाई हजार, दुई हजार पकेटमा हाल्दिएर हिँडाएका लुट्न पाइन्छ, लुटेर जे–जे सक्यो त्यो बोक्न पाइन्छ भनेर ल्याएकाहरु, त्यस्ताहरु आएका छन् । त्यो राम्रो कुरा होइन । यसको लागि हामीले पहिलो कुरा त मुकाबिला गर्नैपर्छ । एउटा अराजकतावादी ट्रेन छ र त्यो अराजकतावादी ट्रेनलाई मलजल दिने, अराजकताकै पक्षमा, भाँडभैलोमात्रै सिर्जना गर्ने पक्षमा प्रचण्डलगायतको सोकल्ड एउटा आफूलाई वामपन्थी भन्न रुचाउने मोर्चा भन्न रुचाउने, अनेक तमासा गर्ने एउटा गिरोह छ,’– ओलीले भने ।
उनले माओवादीलाई अरुको लागि अरुको इसारामा काम गर्ने तत्त्वको संज्ञा दिए । माओवादीले देशमा क्रान्ति गर्छु भनेर बाहिरबाट हतियार ल्याउने, बाहिरका हतियार, बाहिरका खरखजना, बाहिरकै तालिम आदिको आधारमा नेपाली जनताको छाती र टाउकोमा गोली पड्काएरको उनको टिप्पणी छ ।
‘उतै बम बनाउन सिके, यता ल्याएर पड्काए । गुडिरहेको बसमा पड्काए, बुढाबुढी, बालबालिका भएको ठाउँमा पड्काए । अप्ठ्यारो पर्दा बेवारिसे छाडेर हिँडे । लुकाएर हिँडे । अहिलेसम्म पनि बेवारिसे छाडिएको ठाउँमा बच्चाबच्चीहरुले खेलाउँदा विष्पोट भएर निधन भइराखेको छ । त्यसखालका तत्त्वहरु, हामीले वामपन्थी भनेर मिलायौं, कम्युनिष्ट भनेर मिलायौं ।’ उनले भने, ‘तर, वास्तवमा ती वामपन्थी थिएनन् । उनीहरुले त्यो सहनै सकेनन् । विचार गर्नुस् त हाम्रो पार्टी नफुटेको मात्रै भए ! सिध्यौं एमालेलाई भन्दा फेरि फर्किएर आएर नेतृत्व गरिराखेको छ भने एमाले सर्लक्कै दुई तिहाइको स्थितिमा अविभाजित पार्टी रहन पाएको भए ? नेपाललाई गरिखान नदिने बाह्य उद्देश्यहरुको मतियार भएर उनीहरुले त्यस्ता काम गरे । त्यो एउटा ठूलो, हाम्रो देशमाथिको आक्रमण नै थियो । एमाले देशको नायक पार्टी हो । देशलाई बाटो देखाउने पार्टी हो ।’




प्रतिक्रिया