काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणले वर्तमान सत्ता गठबन्धन एकअर्कालाई बचाउन र खोलिएका फाइलहरु बन्द गर्नको लागि बनेको भन्ने कुरा पुष्टि भएको बताएका छन् । आज (आइतबार) रास्वपाको केन्द्रीय समितिको बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले वर्तमान सरकार भ्रष्टहरुको संरक्षणका लागि बनेको हो भन्ने दाबी गर्न सकिने अवस्थामा आइसकेको बताएका हुन् ।
‘यथास्थितिमा यो भ्रष्ट र तस्करहरुले चलाएको गठबन्धनले यो देशलाई कतै पुर्याउलाजस्तो देखिँदैन । यो एकअर्कालाई संरक्षित गरेर भ्रष्ट र विभिन्न किसिमको अभ्यासहरु गरिने, यो गठबन्धन परिवर्तन हुँदै गर्दा पनि हामीले भनेका थियौं, जुन आज दोहोर्याउन चाहन्छौं– यो कतै एकअर्कालाई बचाउनका लागि र खोलेको फाइलहरु बन्द गर्न बनेको गठबन्धन त होइन ? भनेर हामीले आशंका राखेको थियौं । त्यो अब दाबी गर्न सकिने अवस्थामा पुग्दै छ । त्यो भिजिट भिसा काण्डले देखाउँछ,’– उनले भने ।
भिजिट भिसा प्रकरणमा संलग्नता प्रमाणित भएको खण्डमा राजनीति नै छाडिदिन्छु भन्ने गृहमन्त्री रमेश लेखकको अभिव्यक्तिमा खण्डन गर्दै उनले राजनीति छाडेर नपुग्ने जेल नै जानुपर्ने बताए । वर्तमान सरकारले नयाँ दल र पुराना दललाई कानुनी रुपमा नै विभेद गरेको समेत बताए । नयाँ दललाई अदालतमा अभियोग दर्ता हुनेबित्तिकै थुन्ने र ठूला दललाई राजनीति छाड्न पनि अभियोग प्रमाणित हुनुपर्ने अवस्था सिर्जना भएको उनको तर्क छ ।
‘भिजिट भिसा काण्डमा गृहमन्त्रीज्यूले निकै शालिन कुरा के बोल्नुभयो भने यो प्रमाणित भयो भने म राजनीति छोड्दिन्छु भन्नुभयो । यो प्रमाणित भयो भने राजनीति छोड्ने होइन, जेल जाने हो । त्यसपछि राजनीति छोड्नै पर्छ त्यसपछि । तर अर्का कुरा अरु दलको नेतालाई त प्रमाणित नभएरै जेलमा थुन्नुभएको छ नि त ? तपाईँहरुको चाहीँ प्रमाणित हुनुपर्ने जेल जानलाई, अरुलाई चाहीँ प्रमाणित नगरेरै अभियोजन दर्ता भएकै आधारमा थुन्न थाल्नुभएको छ । थुनिरहनुभएको छ । त्यो त छ, त्यसको जवाफ के छ ? पुरानो दललाई चाहीँ प्रमाणित हुनुपर्ने, नयाँ दललाई चाहीँ दर्ता हुँदै जेल थुन्दिने ? त्यो हो कि ? कि त्यो उहाँले भन्नुपर्यो,’– उनले भने ।




प्रतिक्रिया