काठमाडौं, १२ जेठ । भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रमेश लेखक यतिवेला चर्चामा छन् । सोसल मिडियादेखि मूलधारका मिडियासम्ममा उनको राजीनामा मागिएका समाचार छन् । यो विषयमा सत्तारूढ दल कांग्रेस र एमालेको पार्टी बैठकमा समेत छलफल भएको छ ।
एमालेको हिजो (आइतबार) बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकलाई अनावश्यक रूपमा मुछेको भन्दै बचाउ गरेका थिए । स्वयम मन्त्री लेखकले पनि आफ्नो संलग्नता पुष्टि भए राजनीतिबाट नै राजीनामा दिने भनेका छन् ।
तर, विपक्षी दल रास्वपालगायतले भने मन्त्री लेखकले राजीनामा दिएर यो प्रकरणमा अनुसन्धानमा सघाउनुपर्ने माग गरेका छन् । आज विहान नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा समेत यो विषयमा चर्चा भएको थियो । सभापति शेरबहादुर देउवाले मन्त्री लेखकलाई अनावश्यक मुछ्न खोजिएको भन्दै कडा रुपमा प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
बैठकले यस प्रकरणमा गृहमन्त्री लेखकको कुनै संलग्न्ता नदेखिएको र राजीनामा दिन नपर्ने निश्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । हिजो कांग्रेस र एमालेका शीर्ष नेताहरुसम्मलित बैठकमा समेत यो विषयमा गम्भीर छलफल भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बसेको बैठकमा प्रधानमन्त्री ओली र सभापति देउवाले गृहमन्त्रीलाई सोसल मिडियामा बदनाम गरिएको भन्दै बचाउ गरेका थिए ।




प्रतिक्रिया