गृहमन्त्री लेखकको बचाउमा देउवा, शेखरलगायत स्पष्टीकरणको चेपुवामा


काठमाडौं, १२ जेठ । राजनीतिक बृत्तमा यतिबेला भिजिट भिसा प्रकरण एकदमै चर्चामा छ । भिजिट भिसामा विदेश पठाउँदा पैसा असुल गरेको प्रकरणमा अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि सो प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएकाले उनले राजीनामा दिएर छानविनको लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरिरहेका छन् ।

नेपाली कांग्रेसभित्रैका केही नेताहरुले पनि अब गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताउँदै खाएका छन् । कांग्रेस नेताहरु डा.शेखर कोइराला, राजेन्द्र बजगाईँ, डा.सुनिल शर्मालगायतले जोडतोडका साथ गृहमन्त्री लेखकको राजीनामा माग गरिरहेका छन् । कांग्रेसका अन्य नेताहरु भने लेखकको बचाउमा छन् ।

यता सांसद एवं पूर्वमन्त्री मोहन बस्नेतलाई टेरामक्स प्रकरणमा अख्तियारले डामेको एक हप्ता पनि नहुँदै गृहमन्त्री लेखक संलग्न रहेको भन्दै भिजिट भिसा प्रकरण बाहिरिएको छ । स्रोतका अनुसार अध्यागमन विभागका प्रमुख भट्टराईले पक्राउपश्चात दिएका बयानमा गृह मन्त्रालयलाई दैनिक ५० लाख बुझाउने गरेको बताएका थिए ।

आज (सोमबार) बसेको कांग्रेस पदाधिकारी तथा पूर्व प्रदाधिकारी बैठकमा समेत केही नेताहरुले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिएर निष्पक्ष छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्ने विचार राखेका थिए । नेताहरुले राजीनामाको कुरा उठाएपछि गृहमन्त्री लेखकले पनि ‘मेरो कारणले पार्टी र सरकारलाई अप्ठ्यारो पर्छ भने राजीनामा दिन तयार छु’ भनेको बैठकमा सहभागी एक नेताले बताए ।

गृहमन्त्री लेखकले राजीनामा दिन तयार रहेको बताएसँगै पार्टी सभापति शेरबहादुर देउवाले ‘पर्दैैन, पर्दैन’ भनेर बीचमै रोकेको ती नेताले बताए । सभापति देउवाले गृहमन्त्री लेखकको राजीनामा माग गर्ने नेताहरु डा.शेखर कोइराला, राजेन्द्र बजगाईँ र डा.सुनिल शर्मालाई उल्टै स्पष्टीकरण सोध्ने तयारी गरेको स्रोतले बतायो ।