काठमाडौं, १२ जेठ । प्रमुख सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिन भएकाले त्यस दिनलाई पार्टीले विजय उत्सवको रूपमा मनाउन लागेको बताएका छन् ।
आइतबार सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको ५२औँ बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेसँगै आज (सोमबार) तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिएको तयारी भेलामा महासचिव पोखरेलले देशभर पार्टीको आयोजनामा विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने जानकारी गराए ।
उनले काठमाडौं उपत्यकामा तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)को एकीकृत कार्यक्रम भृकुटीमण्डपमा आयोजना गरिने जानकारी गराउँदै गणतन्त्र दिवस बलिदानीपूर्ण लामो सङ्घर्ष सफल भएको, जनताले जितेको दिन भएकाले जनताको भव्य सहभागिता गराउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।
एमालेले देशका सबै पालिकामा गणतन्त्र दिवस कार्यक्रम आयोजना गर्ने र त्यसको संयोजन पार्टीको जिल्ला कमिटीले गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकबाट निर्णय गरी गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी उत्सवको रूपमा मनाउन आमजनसमुदायलाई समेत आह्वान गरिएको छ ।
काठमाडौंमा हुने गणतन्त्र उत्सवलाई भव्यताका साथ सम्पन्न गर्न बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरूलाई समेत जिम्मेवारी तोकिएको छ । गणतन्त्र उत्सवमा आ–आफ्ना सांस्कृतिक झाँकीसहित सहभागी हुन जनसङ्गठन लगायतलाई निर्देशन गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजावादी मण्डलेहरू गणतन्त्रपछि देशमा केही भएन, समाज पछाडि पर्यो भनेर जनतामा भ्रम सिर्जना गरिरहेकाले त्यसलाई तथ्यका आधारमा चिर्नुपर्ने आवश्यकता रहेको बताए । प्रतिगामी, प्रतिगमनकारीहरू जनतालाई प्रलोभनमा पारेर, उत्तेजित बनाएर, लुटपाट मच्चाउने, अराजकता सिर्जना गर्ने र परिस्थितिलाई विथोल्ने ढङ्गले आइरहेको चर्चा गर्दै महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रपछि भएको आर्थिक, सामाजिक परिवर्तन र विकासका बारेमा जनतालाई बुझाउनुपर्ने बताए।
उनले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिहरू जनताका विरुद्धका गतिविधि भएकाले त्यस्ता गतिविधिविरुद्ध सिङ्गो पार्टी एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । उनले भने,‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्ध अर्थात जनताका विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टीपङ्क्ति क्रियाशील हुनु आवश्यक छ ।’
एमाले राष्ट्र, जनता, परिवर्तन र भविष्यका पक्षमा बलियो शक्ति हो भन्ने बुझेका शत्रुहरूले एमाले र यसको नेतृत्वमाथि प्रहार गरिरहेको चर्चा गरे । उनले भने– हामी निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पमा दृढतापूर्वक अगाडि बढ्नु आवश्यक छ ।’




प्रतिक्रिया