काठमाडौं, १२ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको विषयलाई लिएर नेपाली कांग्रेसभित्र यतिबेला रोइलो सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरु गृहमन्त्री लेखकको बचाउमा उत्रिएका छन् भने इतरपक्षीय नेताहरुले राजीनामा माग गरिरहेका छन् । आज (सोमबार) बसेको पदाधिकारी बैंठकमा गृहमन्त्री लेखकले पार्टी र सरकारलाई आफ्नो कारणले अप्ठ्यारो पर्ने भए राजीनामा दिन तयार रहेको बताएका थिए । तर, सभापति देउवाले लेखकलाई ‘पर्दैन, पर्दैन’ भनेर रोकेको बैठकमा सहभागी एक नेताले बताए ।
त्यस्तै, कांग्रेस नेता शशांक कोइरालाले पनि गृहमन्त्री लेखकको एक इन्च पनि गल्ती नरहेको टिप्पणी गरेका थिए । संस्थापन पक्षीय नेताहरुले गृहमन्त्री लेखकको राजीनामा माग्ने नेताहरुलाई स्पष्टीकरण सोध्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा शशांकको पनि संलग्नता रहेको निष्कर्ष निकाल्दै नेता राजेन्द्र बजगाईँले फायर खोलेका छन् ।
उनले शशांकलाई एउटा किया र महिन्द्रा एसयुभी गाडी, रोलेक्स घडी, पैसाले भरिएको महँगो ब्यागलगायतका बहुमूल्य उपहार दिएको स्मरण गराएका छन् । उनले ती उपहारबारे पनि शशांकसँग स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् । ‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धारु वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ,’– नेता बजगाईँले भनेका छन् ।





प्रतिक्रिया