वातावरण साहित्य गोष्ठीको दशौं श्रृंखला आयोजना हुने


काठमाडौं, १२ जेठ । नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजना तथा साहित्य पोष्ट अनलाइन पत्रिकाको सह–आयोजनामा वातावरण साहित्य गोष्ठीको दशौं श्रृंखलाको कार्यक्रम आयोजना हुने भएको छ ।

जेठ १७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा गोष्ठीमा लेखक विजय हितानद्वारा रचित पर्या कविता ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिनेछ । साथै पर्या निबन्ध प्रतियोगितामा सहभागी एक सय आठवटा निबन्धमध्येबाट छानिएका उत्कृष्ट ३२ वटा निबन्धको संग्रह सार्वजनिक गरिने कार्यक्रम छ ।

गोष्ठीमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारलाई पुरस्कारसहित सम्मान गरिनेछ भने बाँकी २९ जना प्रतियोगीलाई पनि सम्मान गरिने आयोजकले जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा. अभि सुवेदी हुनेछन् भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहनेछन् । गोष्ठीका नोट स्पिकर डा. गोविन्दराज भट्टराई रहनेछन् । त्यसैगरी डा. गीता त्रिपाठी र डा. अशोक थापा कार्यक्रमका वक्ता रहनेछन् ।

कार्यक्रमको संयोजन विजय हितानले गर्ने छन् । आयोजकद्वयका अनुसार यस गोष्ठीले वातावरण र साहित्यबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्य राखेको छ ।