राजर्षिजनक विश्वविद्यालयको बीए.एलएलबी पाठ्यक्रम संशोधन कार्यशाला सम्पन्न


काठमाडौं, १२ जेठ । राजर्षिजनक विश्वविद्यालयले मानविकी तथा कानुन संकाय अन्तर्गत सञ्चालित बीए.एलएलबी शैक्षिक कार्यक्रमको गुणस्तर अभिवृद्धि गर्ने र सो कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डहरूसँग मिलाउन उद्देश्य राखी पाठ्यक्रम संशोधन कार्यशाला गोष्ठी (सेमिनार) सफलतापूर्वक सम्पन्न गरेको छ।

शनिबार भक्तपुरमा सम्पन्न उक्त कार्यशालाको प्रमुख आतिथ्य विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहले गरेका थिए । कार्यशालामा संकाय सदस्यहरू, विषय विज्ञहरू, तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

राजर्षिजनक विश्वविद्यालयको बीए.एलएलबी पाठ्यक्रम परिमार्जन समितिका संयोजक प्रा.डा.बलबहादुर मुखियाको नेतृत्वमा तयार गरिएको संशोधित कोर्ष संरचनामाथि गहिरो छलफल तथा सुझाव आदान–प्रदान गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो।

मानविकी तथा कानुन संकायका सहायक डीन समीप घिमिरेका अनुसार कार्यक्रममा कानुन शिक्षासँग सम्बन्धित आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका प्रमुखहरू, विषय विज्ञहरू, नेपाल कानुन व्यवसायी परिषद्का प्रतिनिधिहरू, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू, नेपाल बार एसोसिएसनका प्रतिनिधिहरू, कानुन व्यवसायीहरू, विद्यार्थीहरू लगायतको सक्रिय तथा व्यापक उपस्थिति रहेको थियो।

कार्यशालामा सहभागीहरूले हालको बीए.एलएलबी पाठ्यक्रमको समालोचना गर्दै व्यवहारिक, सैद्धान्तिक तथा समसामयिक कानुनी आवश्यकताहरू अनुरूप सुधारको खाँचो औँल्याएका थिए। विविध समूहबाट प्राप्त सुझाव र सिफारिसहरूमाथि गहन छलफल गरी कार्यशालाले संशोधित पाठ्यक्रमको प्रारूपलाई अन्तिम रूप दिने दिशामा महत्वपूर्ण टेवा पुर्‍याएको छ।

विश्वविद्यालयले निकट भविष्यमा संशोधित बीए.एलएलबी पाठ्यक्रम औपचारिक रूपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । जसले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक, व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा मान्य कानुनी शिक्षा प्रदान गर्ने विश्वास गरिएको छ। कार्यक्रमले नेपालमा गुणस्तरीय कानुनी शिक्षाको आधार सुदृढ गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।