काठमाडौं, १३ जेठ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा अवरुद्ध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरुहुनेबित्तिकै प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका थिए ।
प्रतिपक्षी दलहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का उपमहासचिवसमेत रहेका वर्षमान पुनलाई आफ्ना कुराहरु राख्न समय दिए । पुनले गृहमन्त्री लेखकलाई अनुसन्धानको लागि तत्काल राजीनामा दिन आग्रह गरे । यसअघि पनि विभिन्न मन्त्रीहरुको बारेमा प्रश्न उठ्दा (अहिलेका गृहमन्त्री लेखक) तत्कालीन विपक्षमा हुँदा यसरी नै नैतिकताको प्रश्न उठाएको स्मरण गराउँदै पुनले अनुसन्धानकोलागि मार्गप्रशस्त गर्नुपर्ने बताए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बोल्नका लागि शिशिर खनाललाई समय दिइएकोमा उनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् अगाडि नबढ्ने उद्घोष गरे । उनले गृहमन्त्री लेखकको राजीनामा र यस प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति बन्नुपर्ने बताए ।
यता सभामुख घिमिरेले सत्तापक्षका नेता एवं नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्नका लागि समय दिएपछि प्रतिपक्षी दलहरुले संसद्मा नाराबाजी गरे । उनीहरुले ‘मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे’ लगायतका नाराबाजी गरेका थिए ।




प्रतिक्रिया