काठमाडौं, १३ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले गृहमन्त्री रमेश लेखकले राजीनामा गरेर राज्य संयन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री स्वयं भिजिट भिसा प्रकरणमा मुछिएको प्रमाण तत्काल फेला नपरे पनि उनको सचिवालय जोडिएकाले राजीनामा अपरिहार्य बनेको बताएका हुन् ।
सांसद शाहीले आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको राजीनामा जोडतोडका साथ उठाउने बताए । उनले गृहमन्त्रीले चित्तबुझ्दै जवाफ नदिएसम्म र सर्वसत्तावादी सोच देखाएको खण्डमा सदन चल्न नदिने र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन् ।
‘गृहमन्त्रीकै निर्देशनमा यो प्रकारको अपराध भयो भन्ने कुरामा म सहमत चाहीँ छैन । तर, उहाँको सचिवालय जोडियो । सचिवालय जोडिनु भनेको स्वयं गृहमन्त्री जोडिनु हो । अहिले जनताले के प्रश्न उठाएका छन् भने सुशासनको मामिलामा राजनीतिक दलहरु कमजोर छन् भन्ने कुराको जनताले राजनीतिक नेतृत्वप्रति अविश्वास खडा गरेका छन् । त्यस्तो बेला प्रश्न उठिसकेपछि स्वच्छ छानविन गर्छु, दोषीलाई कारबाही गर्छु भन्दा जनताले पत्याउँदैनन्,’– यनले भने ।
विगतमा कांग्रेस–एमाले प्रतिपक्षमा हुँदा साना–साना कुरामा विवाद गरेर प्रधानमन्त्रीलाई समेत रोष्ट्रममा जान नदिएको बताए । माओवादीले जिम्म्ेवार भूमिका निर्वाह गर्ने र उनीहरुको क्रियाको प्रतिक्रिया जनाउने बताए । नेता शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अहङ्कारी, निरङ्कुश र सर्वसत्तावादी सोच’ भएको व्यक्तिको संज्ञा दिए । उनले प्रधानमन्त्री ओलीले राज्य संयन्त्रलाई विश्वासन नगरेर आफ्ना नेता तथा कार्यकर्तालाई विश्वास गरेको उनको आरोप छ ।
‘केपी शर्मा ओली भन्ने व्यक्ति अहङ्कारी, निरङ्कुश र सर्वसत्तावादी सोच बोकेका व्यक्ति हुन् । यो कुरा हामीले प्रष्ट भनेका छौं । यसमा हामीले अर्को कुनै नयाँ विचार दिनु जरुरी छैन । अहिले उहाँ एमालेको अध्यक्षमात्रै होइन, देशको नेतृत्व लिएको, कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्रीले राज्यका संयन्त्रमा विश्वास नगर्ने, आफ्ना कार्यकर्तालाई मात्रै विश्वास गर्ने गैरजिम्मेवार कुरा भएन र ? पार्टी गुहार्नेले त सत्ताको नेतृत्व छाड्नुपर्ने नि त । राज्यका सबै संयन्त्रलाई विश्वास गर्नुको साटो अत्यन्त कमजोर सोच, हामी विचरा भन्छौं त्यस्तो सोचलाई,’– उनले भने ।




प्रतिक्रिया