काठमाडौं, १३ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केदारभक्त माथेमाको नेतृत्वमा गठन भएको आयोगले तयार पारेको उच्च शिक्षासम्बन्धी प्रतिवेदन (तत्कालीन प्रधानमन्त्री) प्रधानमन्त्री केपी शर्मा ओलीले लुकाएको आरोप लगाएका छन् । आज (मंगलबार) खोरखामा आयोजित कार्यक्रमलाई सम्बाधन गर्दै प्रचण्डले उच्च शिक्षामा देखा परेको अराजकताका कारणले हजारौं विद्यार्थीहरु विदेश जाने, अर्बौं र खर्बौं नेपाली पैसा विदेश जाने गरेको अवस्थालाई रोक्न आयोग बनाएर काम गरिएको भए पनि त्यसलाई लुकाइएको उनले बताए ।
त्यसपछि आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेलामा उक्त प्रतिवेदन तत्कालीन शिक्षामन्त्रीबाट प्राप्त गरेर लागू गर्न शिक्षा मन्त्रीलाई दिएको उनले सुनाए । तत्कालीन शिक्षामन्त्रीलाई उक्त प्रतिवेदन कार्यान्वयन गर्नका लागि दिएको कारण नै सुमना श्रेष्ठ र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबीच टकराव सुरु भएको प्रचण्डले बताए ।
‘त्यो प्रतिवेदन आइपुग्दा हामी सरकारमा थिएनौं । अहिलेका प्रधानमन्त्री (ओली) प्रधानमन्त्री भएको बेलामा प्रतिवेदन उहाँले यसरी लुकाइदिनुभयो, उहाँले लुकाकै हो त्यो प्रतिवेदन । अनि म प्रधानमन्त्री यो पटक हुँदा फेरि खोज्दा पाइँदै पाइएन । फेरि त्यतिबेलाको शिक्षामन्त्रीसँग एउटा कपी रहेछ । त्यो खोजेर शिक्षा मन्त्रालयलाई यो लागू गर्नुपर्छ भनेर दिएको थिएँ । अनि त्यही शिक्षामन्त्रीसँग अहिलेका प्रधानमन्त्रीको यस्तो झगडा र लगाइँ पर्यो कि त्यो अगाडि बढ्नै सकेन । कसले विगारेको छ शिक्षामा भन्ने कुरा बुझ्नुहोला । कुरा यो हो,’– उनले भने ।
शिक्षा क्षेत्रलाई नेकपा (एमाले) र प्रधानमन्त्री ओलीले सुधार गर्न नचाहेको उनको धारणा थियो । उनले उक्त प्रतिवेदनमा कसरी देशभित्रै उच्च शिक्षालाई गुणात्मक बनाउन सकिन्छ, विद्यार्थीहरुलाई यहीँ रोक्न सकिन्छ र उनीहरुलाई देशभित्रै रोजगारीको वातावारण बनाउन सकिन्छ भन्ने कुराको गहन अध्ययन रहेको पनि बताए ।




प्रतिक्रिया