*भ्रष्टाचार प्रकरणमा मधेशका सांसद सिंह पनि जोडिए, स्वकीय सचिव पक्राउ


काठमाडौं, १३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंहका निजी सचिव बिनोद कुमार लाल कायस्थलाई पक्राउ गरेको छ ।

प्रदेशसभा सदस्य सिंहसमेतको संलग्नतामा विभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम आफूमार्फतझिकी श्रीमतीको खातामा बैंक दाखिला गरी गर्न लगाएर भ्रष्टाचारजन्य कार्य गरेको आरोपमा उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियारले मधेश प्रदेशसभा सदस्य सिंहको साथमा रहेको र प्रयोग गरी आएको बिद्युतीय उपकरणसमेत कब्जामा लिएको छ । सो सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको अख्तियारले जनाएको छ । सांसद सिंह जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए ।

(भुलवस फोटो अर्को पर्न गएकाले सच्याइएको छ ।)