काठमाडौं, १३ जेठ । भिजिट भिसा प्रकरणले राष्ट्रिय राजनीति नै तातिएको छ । विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ र उच्चस्तरीय छानबिन समितिको माग गरेका छन् । उनीहरुले आजको प्रतिनिधिसभा बैठकसमेत अवरोध गरेका छन् । कांग्रेसकै शीर्ष नेताहरु र सांसदहरुले गृहमन्त्री लेखकले यो प्रकरणमा नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठाएपछि राष्ट्रिय राजनीति तातिएको हो ।
स्वयम गृहमन्त्री लेखकले आफ्नै पार्टीका नेताहरुले आफूलाई एक वचन केही नभनी मिडियामा राजीनामा मागेकोमा चित्त दुखाएका छन् । पार्टीको हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा समेत लेखकले पार्टीलाई अप्ठ्यारो परेको हो भने आफू मार्गप्रशस्त गर्न तयार रहेको वचन दिए ।
तर, सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले कर्मचारीले गल्ती गर्यो भन्दैमा मन्त्रीले राजीनामा दिनुपर्ने भनेर माग गर्नु गलत भएको भन्दै लेखकको बचाउ गरेका थिए । पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने नेताहरु डा. शेखर कोइराला, डा. सुनिलकुमार शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने कुरा उठेको शशांक कोइरालाले खुलासा गरेका थिए । गृहमन्त्री लेखकको राजीनामाको विषयलाई विपक्षीहरुले प्रमुख एजेण्डा बनाएर आजको सदन अवरोध गरेपछि बैठक भोलिसम्मको लागि स्थगित् गरिएको छ ।
सभापति देउवा र महामन्त्री थापाले गृहमन्त्री लेखकको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समेत गृहमन्त्री लेखकको राजीनामा आउने खुलासा गरेका छन् । कांग्रेस सभापति देउवाले भने अहिले गृहमन्त्री लेखकको राजीनामाबारे केही नसोचेको बताईन्छ । तर, आज विपक्षीहरुले आफ्नो अडानबाट टसमस नहुने छाँटकाँट देखाएपछि भने कांग्रेसभित्रै लेखकको राजीनामा आए गृह मन्त्रालयको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा बहस सुरु भएको छ ।
सभापति देउवाले वीरबहादर बलायरलाई अघि बढाउनसक्ने चर्चा भएको छ । बलायर कैलाली–४ बाट निर्वाचित सांसद हुन् ।गृहमन्त्री लेखकको राजीनामा शेखरले मागेकै भोलिपल्ट राष्ट्रियसभाका दलका नेता कृष्णप्रसाद सिटौलाले भने कर्मचारीले गल्ती गर्दैमा मन्त्रीले राजीनामा दिन नहुने भनेका छन् । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले पनि लेखकले राजीनामा दिन नपर्ने भनेका छन् ।
तर, परिस्थिति जटिल बन्दै गए र गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो भने सिटौला र महतपनि गृहमन्त्री बन्नसक्ने चर्चा छ । देउवाले बलायर, सिटौला र महतमध्ये एकलाई अघि बढाउनसक्नेबारे अहिले कांग्रेसभित्रै गाईंगुईं चल्न थालेको छ । यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक दायित्वमा सरकार छ । तर, बजेट आउने अघिल्लो दिन भोलि जेठ १४ गते बुधबार पनि सदन सुचारु हुने अवस्था भने देखिएको छैन् । यस्तोमा सरकार कसरी अघि बढ्छ भन्ने चर्चापनि सुरु भएको छ ।
गृहमन्त्री लेखक आज संसदमा आफूमाथि उठेको प्रश्नको जवाफ दिने मनशायका साथ उपस्थित् भएका थिए । तर, विपक्षीहरुको अवरोधको कारण उनले बोल्ने मौका नै पाएनन् । कांग्रेस र एमाले सांसदहरुले गृहमन्त्री लेखकमाथि मिडिया र सोसल मिडियामा समाचार आएको भरमा लाञ्छना लगाउनु गलत भएको टिप्पणी गरेका हुन् ।
उनीहरुले गृहमन्त्रीको कुनै संलग्नता नभएकोले राजीनामा दिन नहुने धारणा राखेका छन् । गृहमन्त्री लेखक अहिलेपनि हाईमोरलले आफ्नो कार्यसम्पादनमा व्यस्त छन् । उनले आज केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन् । केन्द्रीय सुरक्षा समितिको बैठकमा यही जेठ १५ गते राप्रपाको नेतृत्वमा राजावादीहरुले गर्ने प्रदर्शनको बारेमा छलफल गर्ने भनिएको छ ।




प्रतिक्रिया