माओवादीलगायतका प्रतिपक्षीबाट हतारोमा गृहमन्त्री लेखकको तेजोबध गर्ने काम भयोः एमाले नेता बर्तौला


काठमाडौं, १३ जेठ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दललगायतले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्न हतार गरेको टिप्पणी गरेका छन् । संसद् भवन परिसरमा आज (मंगलबार) सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भिजिट भिसा प्रकरणमा जोडेर गृहमन्त्रीलाई तान्नु, राजनीतिक हिसाबले विवादित बनाउन र तेजोवध गर्न प्रतिपक्षले हतार गरेको बताएका हुन् । उनले

माओवादी केन्द्रलगायतका प्रतिपक्षी दलको उक्त कदमलाई नेता बर्तौलाले ‘अपरिपक्व र असंसदीय’ व्यवहारको संज्ञा दिए । उनले भिजिट भिसा प्रकरढा ठूलो र डरलाग्दो रहेको बताउँदै निष्पक्ष रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविन गर्न दिनुपर्ने र दोषीमाथि हदैसम्मको कानुनी कारबाही गरिनुपर्ने बताए ।

‘भिजिट भिसामा, यसका नाममा नेपाली नागरिकहरुलाई ठगी गर्ने, अध्यागमन विभागका कर्मचारीहरु वा त्यसको टप टू बटममा को को छन् ? तिनलाई कानुनी कारबाहीमा ल्याउनुपर्र्छ, दण्डित गर्नुपर्छ । सरकार यसमा दृढ छ । कहीँकतै यसमा प्रश्न गर्न पर्दैन । तर, हतारमा जसलाई जे मन लाग्यो त्यही आधारमा, मिडियामा आएको समाचारको आधारमा दृष्टिकोण बनाउँदै जाने हो भने हामी कहाँ पुग्छौं ? भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविन, त्यसको निष्कर्षको आधारमा को–को जोडिन्छन्, जुनसुकै पद, ओहदाका किन नहुन्, चाहे व्यूरोक्रेशीभित्रका होस्, चाहे मन्त्रालयमा नेतृत्व गर्ने तहमा कोही छन् भने सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ,’– नेता बर्तौलाले भने ।

दोषीलाई कानुनको दायारामा ल्याउने कुरामा एमाले र आफू स्वयंले वकालत गर्ने बताउँदै उनले अहिले हतारोमा राजनीतिक प्रतिशोध साँध्ने मनशायका साथ जानु राम्रो नहुने उनले बताए ।