प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ-गृहमन्त्रीको राजीनामा गराएर सदनलाई जानकारी गराउनुहोस्


काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहाललाई फोन गरेर सदनको अवरोध खोल्न आग्रह गरेका छन् । भिजिट भिसा प्रकरणमा सदन अवरोध जारी छ । हिजो नै विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरेका हुन् ।

उनीहरुले राजीनामा नआएसम्म अवरोध खोल्न नसकिने बटमलाईन राखेका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले सदनको अवरोध खुलाउनको लागि विपक्षी दलका नेता प्रचण्डलाई फोन गरेको माओवादी केन्द्रका सांसद माधव सापकोटाले खुलासा गरे । तर, प्रचण्डले गृहमन्त्रीको राजीनामा नआएसम्म सदनको अवरोध नखोल्ने आफूहरुको बटमलाईन सुनाएका छन् ।

विपक्षी दलहरुको बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री ओलीलाई प्रचण्डले गृहमन्त्रीको राजीनामा गराएर सदनमा जानकारी गराउन जवाफ दिएको बताए ।

बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकमा गृहमन्त्रीले राजीनामा दिन नपर्ने निश्कर्ष निकालिएको छ । प्रधानमन्त्री ओलीले नै गृहमन्त्रीविरुद्धको मात्रै षड्यन्त्र नभएर सत्ता गठबन्धनविरुद्धको प्रहार भएकोले सामूहिक प्रतिकार गर्ने भन्दै राजीनामा नदिन भनेका छन् । file photo