गृहमन्त्री लेखकको राजीनामा प्रतिपक्षीको बटमलाइन, आज पनि संसद् अवरोध कायमै रहने


काठमाडौं, १४ जेठ । प्रतिपक्षी दलहरुको बैठकले संसद् अवरोध कायमै राख्ने निर्णय गरेको छ । आज (बुधबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा नआउँदासम्म संसद् अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

प्रचण्डको अध्यक्षतामा बानेश्वरमा बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टी), आम जनता पार्टीलगायत सहभागी थिए ।

आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी भने सहभागी भएको थिएन । बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले बताए ।

‘गृहमन्त्री रमेश लेखकको राजीनामा नआउँदासम्म अडान कायमै राख्ने निर्णय भएको छ । आज पनि संसद् अवरोध कायमै रहन्छ,’– रिपोर्टर्स नेपालका लागि मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने । File Photo/RN