काठमाडौं, १४ जेठ । संसद्मा जारी अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । सभामुख घिमिरेले संसद् अवरोध अन्त्य गर्ने सम्बन्धमा दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । संविधानतः भोलि (जेठ १५ गते) सरकारले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत गर्ने अघिल्लो दिन आज अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्नुपर्नेमा प्रतिपक्षीले अवरोध कायमै राखेपछि सरकार थप संकटमा परेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको दाबी गर्दै प्रतिपक्षी दलहरुले हिजोदेखि संसद् अवरोध गरिरहेका छन् । गृहमन्त्री लेखकले राजीनामा दिएर निष्पक्ष छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रतिपक्षी दलहरुको अडान रहेको छ । आज प्रतिपक्षी दलहरु (राप्रपा बाहेक) र सत्तापक्ष दलहरु छुट्टा छुट्टै बैठक बसेका थिए ।
यसो त सभामुख देवराज घिमिरेले सदन खुलाउनका लागि हिजो पनि प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । हिजोको छलफल निष्कर्षविहीन भएको थियो । आज पनि सहमति जुट्ने सम्भावना न्यून रहेको बैठकमा सहभागी एक नेताले बताए ।




प्रतिक्रिया