प्रतिनिधिसभामा विपक्षी दलहरुको अवरोध कायमै, आधा घण्टापछि बस्नेगरी बैठक स्थगित


काठमाडौं, १४ जेठ । प्रतिपक्षी दलहरुले अवरोध कामयै राखेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ । भिजिट भिसा प्रकरणलाई लिएर हिजो (मंगलबार) देखि प्रतिपक्षी दलहरुले सदन अवरोध गरिरहेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उक्त प्रकरणको निष्पक्ष छानविनमा सघाउनुपर्ने माग गरिरहेका छन् ।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरोध गरेका थिए । उनीहरु उठेर विरोध जनाएपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । सभामुख घिमिरेले बैठक चल्ने वातावरण बनाउन पटक–पटक अनुरोध गर्दासमेत उनीहरु टसमस भएनन् ।

संविधानतः भोलि (जेठ १५ गते) सरकारले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत गर्ने अघिल्लो दिन आज अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्नुपर्नेमा प्रतिपक्षीले अवरोध कायमै राखेपछि सरकार थप संकटमा परेको छ ।