काठमाडौं, १४ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख तीर्थराजा भट्टराई भिजिट भिसा प्रकरणमा मुछिएपछि उनी र गृहमन्त्री रमेश लेखकबीच दुई घण्टा लामो छलफल भएको खुलासा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीका अनुसार गत जेठ ६ गते गृहमन्त्री लेखक र अध्यागमन कार्यालयका प्रमुख भट्टराईबीच बेलुका ६ बजेदेखि ८ बजेसम्म छलफल चलेको थियो ।
‘अध्यागमनका प्रमुखलाई जेठ ६ गते सरुवा गरियो । त्यो भन्दा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उसलाई कारबाही प्रक्रिया अगाडि बढाउँदै गर्दा जेठ ६ गते सरुवा गरेर, गृह मन्त्रालयमा ल्याएर बेलुका ६ बजेदेखि ८ बजेसम्म गृहमन्त्रीज्यूले उसँग छुट्टै वार्ता किन गर्नुपर्यो ? यो देशको गृहमन्त्रीले अध्यागमनको प्रमुखलाई उहाँले छुट्टै राखेर वार्ता किन गर्नुपर्यो ? त्यसको छानविन भइदिओस् र गृह मन्त्रालयको त्यो दिनको भिडिओ रेकर्डमा पनि छानविन भइदिओस् । म अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गृह मन्त्रालयको त्यतिखेरको सीसीटिभी चेक गरियोस् भनेर माग गर्न चाहन्छु,’– उनले भने ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक पनि मुछिएका छन् । गृहमन्त्रीको राजीनामा, उच्चस्तरीय छानविन समिति र मानव तस्करीलाई बन्द नहुँदासम्म संसद् अवरोध कायमै रहने उनले बताए ।




प्रतिक्रिया