हामीले गृहमन्त्रीको राजीनामा मागेको हो, जवाफ होइनः ज्ञानबहादुर शाही


काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले सत्तापक्षको कारण सदन अवरुद्ध हुन पुगेको बताएका छन् । आज (बुधबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र संसदीय छानविन समिति बन्नुपर्ने माग राख्दा सरकारले टेरपुच्छर नलगाएको बताएका हुन् ।

‘भिजिट भिसामा मान्छे बेच्न थाले । हामीले संसद्मा जवाफ माग्यौं, गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्यौं । संसदीय छानविन समिति बनोस् भन्ने कुरा अगाडि बढायौं । यतिकुरा पनि सत्तापक्षले टेरपुच्छर नलगाउने, यसलाई नमान्ने भएपछि संसद् अगाडि बढ्न सकेन । यो सत्तापक्ष र सरकार पक्षका कारणले गर्दा संसद् रोकिएको हो,’– उनले भने ।

प्रतिपक्षहरुले हिजोदेखि नै भिजिट भिसा प्रकरणमा आफ्ना कुरा राख्छौं भन्दा प्रतिपक्षले नपाउँदै सत्तापक्षका सांसदहरुले पाउने भन्ने विषय हुन नसक्ने उनले बताए । उनले आफूहरुले गृहमन्त्रीको जवाफभन्दा पनि राजीनामा माग गरेको बताए । ‘गृहमन्त्रीको राजीनामा मागेको हो, जवाफ मागेको होइन । संसदीय छानविन समिति बनाउँछौं भन्ने कमिटमेन्ट आउनुपर्यो,’– उनले भने ।