हामी शान्तिपूर्ण आन्दोलन चाहन्छौं, तर प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर भिडाउन खोज्नुभएको छः राप्रपा प्रवक्ता शाही


काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले आफूहरुले शान्तिपूर्ण आन्दोलन चाहेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजक अभिव्यक्ति दिएर जनता भिडाउन खोजेको बताएका छन् । नवराज सुवेदी नेतृत्वको जनआन्दोलन परिचालन समितिले भोलि काठमाडौंमा आन्दोलनको घोषणा गरिसकेको छ । प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा चैत १५ गते काठमाडौं एमालेको कब्जामा हुनुुपर्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलक्षित गर्दै राप्रपा प्रवक्ता शाहीले भोलिका आन्दोलनमा घट्नसक्ने सम्भावित घटनाको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए । प्रधानमन्त्री ओली पटक–पटक अराजक हुँदै गएको पनि उनको भनाइ छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले उत्तेजक अभिव्यक्ति नदिन विज्ञप्ति नै जारी गर्न परेको उनले बताए । प्रधानमन्त्री ओलीले मानवअधिकारको गम्भीर उल्लङ्घन गरको नेता शाहीको निष्कर्ष छ ।

‘प्रधानमन्त्रीलाई अहिले पनि अपिल गर्न चाहन्छु– यदि भोलिको कार्यक्रममा कहीँ हिंसा भयो भने यसको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । उहाँले नेपालको संविधान र कानुन उल्लङ्घन गर्दै उत्तेजक भाषण दिएर, मान्छे भिडाएर युद्ध गर्न खोज्नुभएको छ । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । कसैमाथि पनि दुर्घटना भयोभने यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ,’– उनले भने । File Photo/RN