काठमाडौं, १४ जेठ । नेपाली सङ्गीतका शिखर पुरुष प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती यस वर्ष उनको जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा विशेष कार्यक्रमसहित मनाइने भएको छ । गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा जेठ २७ गते मंगलवार चौतारास्थित शहिद स्मृति भवनमा कार्यक्रम गरिने तयारी भएको छ । प्रतिष्ठानकी अध्यक्ष किरण प्रधानका अनुसार कार्यक्रममा प्रधानका कालजयी गीतको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, स्रष्टा सम्मान र पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । किरण स्वर्गवासी प्रेमध्वज प्रधानकी धर्मपत्नी हुन् ।
स्व. प्रधानले आफ्नो स्मृतिमा जन्मभूमिमा कार्यक्रम आयोजना गर्नुपर्ने चाहना व्यक्त गरेका थिए । यसअघि काठमाडौँमा आयोजना हुँदै आएको स्मृति कार्यक्रम यसपटक चौतारामै पहिलोपटक भव्य रूपमा आयोजना हुन लागेको हो । प्रत्येक दुई वर्षको अन्तरमा आयोजना हुने कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न क्षेत्रका चारजना स्रष्टालाई नगदसहित सम्मान गरिनेछ ।
कार्यक्रमअनुसार प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट वरिष्ठ गायिका मीरा राणालाई सम्मान गरिनेछ । नेपाली आधुनिक सङ्गीतमा लामो समयदेखि सक्रिय राणा स्वरको मिठास र शैलीका कारण लोकप्रिय गायिका मानिन्छिन् ।
यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान२०८२ वरिष्ठ वादक मोहनकृष्ण कार्की ढलीलाई प्रदान गरिनेछ । उनले बेला तथा स्वरबाजामा विशिष्ट योगदान दिएका छन् ।
यसैगरी प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार २०८२ गायक सुरज थापालाई प्रदान गरिनेछ । स्वरशक्ति र सिर्जनामा उल्लेखनीय क्षमताका उनलाई युवा पुस्ताको प्रेरणाका रूपमा सम्मान गरिन लागेको हो ।
यस्तै प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार २०८२ गायक चन्द्रसिंह घलेलाई प्रदान गरिनेछ । उनी प्रस्तुतिमा नवीन स्वाद दिन सक्ने क्षमताका कारण सम्मानित हुने भएका हुन् ।
उनीहरुलाई सम्मानस्वरूप क्रमशः एक लाख, ५० हजार, ५० हजार र २५ हजार रुपैयाँ नगदसमेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा चौतारावासीको उल्लेखनीय सहभागिता रहने अपेक्षा आयोजकको गरिएको छ । आयोजकले यसलाई केवल एक साङ्गीतिक कार्यक्रम नभई स्व. प्रधानको स्मृतिमा नेपाली साङ्गीतिक इतिहासको कदर गर्ने अवसरका रूपमा लिएको छ । प्रेमध्वजलाई गोल्डेन भ्वाइस अफ नेपाल भनेर चिनिन्छ ।




प्रतिक्रिया