युवा संघ नेपालको निर्वाचन आयोग अध्यक्षमा गिरी र उपाध्यक्षमा थापा विजयी


काठमाडौं, १४ जेठ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा क्षितिज थेबे नेतृत्वको प्यानलले एक जना बाहेक सबै पदमा जित हात पार्न सफल भएको छ।

संघको अध्यक्ष पदमा क्षितिज थेबे ७९६ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत प्राप्त गरे।

त्यस्तै, संघको निर्वाचन आयोगको अध्यक्ष (खुला) पदमा मदन गिरी ९३७ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनका प्रतिस्पर्धी अधिवक्ता शिवराज रिमालले ४६७ मत प्राप्त गरे।

उपाध्यक्ष (खुला) पदमा युवराज थापा ८०४ मतसहित विजयी भए। अन्य प्रतिस्पर्धीहरू अम्मर राज उप्रेतीले २८७, समिप त्रिपाठीले १८६ र विशाल सेन्चुरीले १२७ मत प्राप्त गरे।

सचिव (खुला) पदमा साजन सुवेदी ४२५ मतसहित विजयी बनेका छन्। अन्य प्रतिस्पर्धीहरूमध्ये भिम बहादुर बस्नेत (राष्ट्रिय भान्जा) ले ३३५, रोजमान लामाले ३२८, अमर डंगोलले २१५ र सरोज मेहराले १०१ मत प्राप्त गरेका छन्।

थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ (८९५ मत) र विनय शाह (७७३ मत) विजयी भए। यसमध्ये गुरुङले सम्पूर्ण पदाधिकारीमा सबैभन्दा बढी मत ल्याए। सुमन पुरी प्यानलबाट उपाध्यक्षका उम्मेदवार पर्वत भण्डारीले ६०३ र प्रकाश गौतमले ५३७ मत प्राप्त गर्दै पराजित भए।

त्यस्तै सङ्घको महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ मत र उपमहासचिवमा उपेन्द्र शाहीले ८१५ मत ल्याएर निर्वाचित भए। पुरी प्यानलका महासचिव उम्मेदवार कुबेर अधिकारीले ६४९ र उपमहासचिव उम्मेदवार खेमराज शर्माले ५८९ मत ल्याए।

खुला सचिव पदमा दुई जना निर्वाचित भए — मदन भण्डारी (७९४ मत) र अरुण बहादुर कुँवर (६४८ मत)। अरुण कुँवर पुरी प्यानलबाट निर्वाचित हुने एक मात्र पदाधिकारी बने। अन्य प्रतिस्पर्धी देव बस्नेतले ४८१, ध्रुव खड्काले ४३७ र वकिलबहादुर बमले ४४८ मत ल्याएर पराजित भए।

क्षेत्रीय प्रतिनिधित्वका सचिव पदमा पनि थेबे प्यानलको वर्चस्व कायम रह्यो। सचिव (मधेशी) पदमा मोबिल अख्तर आलमले ७४३ मत ल्याएर विजयी भए भने चितरञ्जन यादवले ४८० मत ल्याए। सचिव (महिला) पदमा निशा लिम्बू सुब्बा ६४६ मतसहित विजयी भइन्। निकटतम प्रतिस्पर्धी रेशु तामाङले ६१४ मत ल्याएकी थिइन्।

महिला सचिव पदमा निशा लिम्बु र रेशु तामाङबीच ३२ मतको झिनो अन्तर रहेको थियो, जुन यस निर्वाचनमा सबैभन्दा कम मतान्तर भएको पद हो।

यसरी, कुल पदाधिकारीमध्ये एक जना बाहेक सबैमा थेबे प्यानल विजयी हुँदै राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा बलियो पकड जमाउन सफल भएको छ।

महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि नवनिर्वाचित नेतृत्वले संगठनलाई थप सशक्त, युवा केन्द्रीत र राष्ट्रियता प्रवर्द्धन गर्ने दिशामा अघि बढाउने प्रतिबद्धता जनाएको छ।