गृहमन्त्री लेखकलाई झक्कु सुवेदीको जवाफः ‘प्रमाण पुगेको दिन राजीनामा दिने होइन, जेल जानुपर्छ’


काठमाडौं, १४ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले कर्मचारीहरुलाई दोषी देखाएर उन्मुक्ति नपाउने बताएका छन् । आज (बुधबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी र गृहमन्त्री मिलेर घुस खाएकाले राजीनामा दिएर निष्पक्ष छानविनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

‘आज गृहमन्त्रीज्यू भन्दै हुनुहुन्छ– मैले खाएको होइन । कर्मचारीले खायो, मैले किन जिम्मा लिने ? उहाँले आज यो कुरा भन्दै हुनुहुन्छ । खाने बेलामा मिलेर खाने, दोष कर्मचारीलाई दिएर होला र गृहमन्त्रीज्यू । यो विलकूल हुनेवाला छैन । विगतमा नैतिकताको कुरा उठ्नासाथ अरु मन्त्रीहरुले राजीनामा दिएको कुरा सबैभन्दा बढी गृहमन्त्री रमेश लेखकज्यूलाई थाहा छ,’– उनले भने ।

साथै, शेरबहादुर तामाङले कुनै गलत कुरा नबोल्दा पनि जनमानसबाट विरोध आएको कारण नैतिकताको आधारमा राजीनामा दिएको उनले स्मरण गराए । नेता सुवेदीले आजकाल गृहमन्त्री लेखकले कांग्रेसका नेताहरुसँग जोगाइदेउ भनेर गुहार मागेको उनले बताए । नेता सुवेदीले अब लेखकको बयान कांग्रेसका नेताहरुले नभएर सीआईबी, अख्तियार, उच्चस्तरीय छानविन आयोगलगायतका अख्तियार प्राप्त निकायले लिने पनि उनले बताए ।

‘गृहमन्त्रीज्जूले नेपाली कांग्रेसका नेताहरुसँग मलाई जोगाइदेउ, मलाई जोगाइदेउ भनेर गुहार मागिरहनुभएको छ । उहाँले दुई घण्टासम्म नेपाली कांग्रेसका नेताहरुसँग बयान पनि दिनुभएको छ । तपाईँको बयान त अब नेपाली कांग्रेसले लिने होइन, अब सीआईबीले लिनुपर्छ । तपाईँको बयान त सम्पत्ति सुद्धीकरणले लिनुपर्छ । तपाईँको बयान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिने हो । त्यतिमात्रै होइन, तपाईँको बयान त उच्चस्तरीय छाविन समितिले लिने हो,’– उनले भने ।

साथै, गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण प्रमाणित भएको खण्डमा राजनीति नै छाड्छु भनी दिएको अभिव्यक्तिलाई खण्डन गर्दै उनले उक्त कार्य प्रमाणित भएको खण्डमा जेल जानुपर्ने बताए । उनले प्रश्न उठेपछि अरुलाई प्रमाण नचाहिने, गृहमन्त्री लेखकलाई भने चाहिने भन्ने कुरा नसुहाउने उनले बताए । नेता सुवेदीले गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लागेकाले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उनले आग्रह गरे ।

‘हिजो विपक्षीहरुले संसद्मा राजीनामा मागे । उहाँले भन्दै हुनुहुन्छ, प्रमाण देउ, राजीनामामात्रै होइन, म राजनीति छोड्छु । उहाँले यही भन्नुभएको छ । अरुको त प्रमाण चाहिँदैन, कुरा उठ्नेबित्तिकै राजीनामा गर्नुपर्छ नैतिकताको आधारमा । तर, उहाँलाई प्रमाण चाहिन्छ । प्रमाण पेश भएको दिन तपाईँले राजीनामा दिएर सन्चो पाउनुहुन्न । त्यस दिन तपाईँ राजनीतिमा बस्नुस्, छोड्नुस् जनतालाई त्यसको के अर्थ ? उहाँले म राजीनामा दिन्नँ, प्रमाण चाहियो भन्नुभएको छ । नेपाली जनतालाई उहाँको राजनीतिसँग मतलब छैन । प्रमाण पुगेको दिन गृहमन्त्रीज्यू तपाईँ जेल जानुपर्छ,’– उनले भने ।