काठमाडौं, १४ जेठ । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् । जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य रहेकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो ।
नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ । सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङ पदमुक्त हुनुभएकोले सो स्थान रिक्त भएको घोषणा आज बसेको छैटौँ अधिवेशनको ११औँ बैठकमा गरेका हुन् ।
प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ । पाँचौँ अधिवेशनअन्तरगत सम्पन्न ८३ वटा बैठकमध्ये उनी ३४ वटा बैठकमा मात्र सहभागी थिईन् ।छैटौँ अधिवेशनमा भने उनी कुनै बैठकमा उपस्थिति थिईनन् । सो अधिवेशनमा ११ वटा बैठक सम्पन्न भइसकेका छन् ।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाइ गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार उनको पद रिक्त घोषणा गर्न अनुरोध गरेका थिए । गुरुङको पद रिक्त भएपछि लुम्बिनी प्रदेशसभामा अब ८७ सिटमध्ये ८६ सांसद छन् ।
गुरुङ पदमुक्त भएसँग जनमतले अब प्रदेशसभा सदस्यका लागि अर्को एक जनालाई सिफारिस गर्नेछ । जनमत पार्टी संसदीय दलका नेता गुप्ताका अनुसार गुरुङ आदिवासी जनजाति कोटाबाट सांसद बनेकी थिईन् । उनको ठाउमा कसलाई सिफारिस गर्ने भन्नेबारे कार्यकारिणी बैठक बसेर टुङ्गो लाग्ने पनि गुप्ताले बताए ।
‘उहाँ (गुरुङ) पदमुक्त भइसक्नु भएको छ । उहाँका ठाउँमा कसलाई सिफारिस गर्ने भन्ने कुरा निर्णय भएको छैन । गीता गुरुङ आदिवासी जनजाति कोटाबाट प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । पार्टीको कार्यकारिणी समितिले निर्णय गरेर अबको केही दिनमा कसलाई सांसद् सिफारिस गर्ने भन्ने निर्णय गर्नेछ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।




प्रतिक्रिया