बागमती, १५ जेठ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गणततन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक भएको बताएका छन् ।
अठारौँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले देशमा सबैखाले निरङ्कुशताविरुद्ध सम्पूर्ण राजनीतिक दल र आम नागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै आज पनि गणतन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक भएको बताएका हुन्।
मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाउँदै राष्ट्र निर्माणको मूल प्रवाहमा समाहित गरेको उल्लेख गर्दै सन्देशमा प्रदेश प्रमुख देवकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन कायम गर्न सम्भव भएकाले यसलाई संस्थागत गर्न सबै पक्ष लाग्नु जरुरी भएको बताएका छन् । रासस




प्रतिक्रिया