हामी शान्तिपूर्ण आन्दोलन चाहन्छौं, तर प्रधानमन्त्री ओली हिंसा भड्काउन चाहनुहुन्छः राप्रपा अध्यक्ष लिङ्देन (भिडिओसहित)


काठमाडौं, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजसंस्था पुनर्स्थापना, हिन्दुराष्ट्र कायम र संघीयता खारेजीको एजेण्डा लिएर आफूहरु आन्दोलनमा होमिएको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गल्ती प्रारम्भ भएको दिन (गणतन्त्र स्थापना भएको दिन) नै उक्त गल्ती सच्याउन आन्दोलनको सुरुवात गरिएको उनले बताए । आफूहरुको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने उनले बताए ।

‘आजको दिन हामीले यो आन्दोलन किन प्रारम्भ गरिराखेका छौं भने जहाँबाट गल्ती प्रारम्भ भयो, त्यहीबाट सच्याउनुपर्छ भनेर आजको मितिबाट घोषणा गरेका हौं । नेपालमा राजसंस्थाको स्थापना होस्, हिन्दुराष्ट्रको स्थापना होस्, संघीयताको खारेजी होस्, भ्रष्टाचारको अन्त्य भएर देशमा सुशासन कायम होस् । देशभित्रै हाम्रा युवाहरुले गरिखाने वातावरण निर्माण होस् । हाम्रै जीवनकालमा देश बनेको देख्न पाउँ भन्ने मूलभूत उद्देश्य राखेर यो आन्दोलनको प्रारम्भ गरेका छौं । यो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने कुरा पनि म जानकारी गराउन चाहन्छु,’– उनले भने ।

गत चैत १५ गतेको आन्दोलनमा सरकारले हिंसा भड्काएको उनको आरोप छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानविन आयोग गठन गरिनुपर्ने र त्यसमा संलग्नहरुलाई उत्तरदायी बनाउनुपर्ने उनले बताए । नेता लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले आजको आन्दोलनमा पनि सत्ता पक्षले हिंसा भड्काउन चाहन्छ भन्ने कुरालाई पुष्टि गर्ने बताए । कुनै पनि आन्दोलन हिंसात्मक नहोस् भन्ने कुरामा सचेत हुँदै आफूहरुले मानव अधिकार आयोग, नागरिक समाज, सञ्चार जगत र सरोकारवाला सबै राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई ध्यानाकर्षण गरेको उनले बताए ।

‘प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिहरुले सत्तापक्ष हिंसा भड्काउन चाहन्छ । प्रदर्शनलाई हिंसात्मक बनाउन चाहन्छ भन्ने कुरा देखिन्छ । तर, हामी सचेत छौं, हामीले मानव अधिकार आयोग, नागरिक समाज, सञ्चार जगत र राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित सबै संघ संस्थालाई ध्यानाकर्षण गरको छौं,’– उनले भने । File Photo/RN