हामी लोकतान्त्रिक मूल्य/मान्याप्रति खरो उत्रिन सकेनौं : शेखर कोइराला (भिडिओसहित)


काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले जनताले सोचेअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र डेलिभरी दिने कुरामा चुकिएको स्विकारेका छन् । नेपाली रेडियो नेटवर्कबाट आज (बिहीबार) प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले गणतन्त्रको यो १७ वर्ष पूरा भएको अवसरमा नेपाली जनताले के पाए ? भन्ने प्रश्नमा उनले भने,‘नेपाली जनताले जुन हामीहरुले सोचेका थियौं त्यो चाहीँ भ्रष्टाचार नहोस, सुशासन दिउँ, डेलिभरी दिउँ, रोजगारीका अवसर सिर्जना गरौं भन्ने थियो त्यसमा हाम्रो ध्यान गएन ।’ अहिलेको व्यवस्थालाई निर्वाचन प्रणालीले अलिक धेरै बिगारिदिएको उनको मत छ ।

उनले भने,‘निर्वाचन प्रणाली नै खराब भयो, तर धेरै साथीहरुले त्यसलाई स्विकार गर्नुहुन्न, निर्वाचन प्रणाली ठिकै छ भन्नुहुन्छ । तर मलाई लाग्छ निर्वाचन प्रणाली पनि एउटा कारक हो । हामीहरु आफूलाई लोकतन्त्रवादी भन्छौं । तर, लोकतान्त्रिक मूल्य र मान्यताप्रति हामी खरो उत्रिन सकेका छैनौं । प्रधानमन्त्रीजस्तो जिम्मेवारी व्यक्ति, प्रधानमन्त्री भनेको त व्यक्तिमात्रै होईन नि, उहाँ त संस्था पनि हो । उहाँले के भन्नुभयो भने काठमाडौंलाई एमालेकरण गर, एमालेको नियन्त्रणमा लेउ भनेर भन्नुभयो । अब कुन सेन्समा भन्नुभयो त्यो म जान्दिनँ, जनताले उहाँ के गर्दै हुनुहुन्छ भनेर बुझे, मानवअधिकार आयोगले नै विज्ञप्ती निकालेर प्रधानमन्त्रीले यसरी बोल्नुहुँदैन थियो भनेर भन्यो । तर प्रधानमन्त्रीजी मानवअधिकार आयोगको वार्षिक बैठकमा नै जानुभएन । अब बहाना बनाउनुभयो, बिरामी भएँ र बिजी भएँ भन्नुभयो । मानवअधिकार जस्तो संस्थामा जानुभएन । हामीले नै लोकतान्त्रिक चरित्र देखाईरहेका छैनौं ।’ file photo