स्रष्टा लामिछानेलाई उत्तम शान्ति पुरस्कार


काठमाडौं, १५ जेठ । विक्रम संवत् २०८१ को उत्तम शान्ति पुरस्कार ‘अक्षत अन्टार्कटिका’का लेखक जीवा लामिछानेलाई दिइएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले सो पुरस्कार मंगलवार सो पुरस्कार प्रदान गरेकोे हो ।

एक लाख रुपैयाँ राशिको यो पुरस्कार एक समारोहबीच हस्तान्तरण गरिएको हो । वि.सं. २०४४ देखि निबन्धकार उत्तम कुँवर र उनकी पत्नी शान्ति कुँवरको स्मृतिमा गैर आख्यान विधाका उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गर्दै आइएको छ ।

लेखक नयनराज पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए भने समालोचक ज्ञानु पाण्डेले ‘अक्षत अन्टार्कटिका’को प्रशंसा गर्दै यसलाई केवल यात्रा संस्मरणमात्र नभई नेपाली साहित्यमा ज्ञान, विज्ञान र पर्यावरणको कथा भएको बताइन् । उनले कृतिमा कल्पना र यथार्थको निकटता, जोखिम मोल्ने निडरता तथा जीवन्त लेखनशैलीको प्रशंसा गरिन् ।

कार्यक्रममा लेखक पद्मावती सिंहले मदन पुरस्कार विजेता, रूपरेखाका सम्पादक तथा निबन्धकार उत्तम कुँवर र शान्ति कुँवरबारे चर्चा गरिन् भने लेखक एवं समालोचक वासुदेव त्रिपाठीले पनि उत्तम कुँवरको योगदानको प्रशंसा गरिन् ।

पुरस्कार चयन समितिका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले ‘अक्षत अन्टार्कटिका’ले नवीन सोच, रोचक शिल्प र नयाँ शैलीका साथ अन्टार्कटिकाको रोमान्चक यात्रावृत्तान्त प्रस्तुत गर्दै विश्वकै सरोकारको विषय बनेको पर्यावरणलाई सशक्ततापूर्वक बहसको विषय बनाएको बताए । यसै आधारमा लामिछानेलाई पुरस्कृत गरिएको पनि उनले स्पष्ट पारे ।

उत्तम शान्ति पुरस्कार वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायतका आख्यानमुक्त गद्यविधाका उत्कृष्ट गैर आख्यानात्मक कृतिलाई प्रदान गरिँदै आएको छ ।