काठमाडौं, १५ जेठ । आज १८औं गणतन्त्र दिवस । गणतन्त्र दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) ले ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तर्क्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्राध्यापक, कानूनविद र नागरिक समाजको तर्फबाट सहभागिता रहेको थियो ।
वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले गणतन्त्रप्रति पनि नागरिकहरुमा सन्तुष्टि नरहेको र अहिले नै राजा ल्याइहाल्ने अवस्था पनि नरहेको बताए । तर, मुलुक एक किसिमको पोलिटिकल क्राइसिस भने रहेको उनको बुझाइ छ । वरिष्ठ अधिवक्ता भण्डारीले मुलुक र जनताले गणतन्त्रको रसास्वादन गर्न नपाउँदा अहिलेको जटिल परिस्थिति देखा परेको बताए ।
‘जनताले गणतन्त्र के हो भन्ने कुराको अनुभूति गर्न पाएनन् । गणतन्त्रका राम्रा पक्ष के हुन् त ? के–के भयो भने गणतन्त्र हुन्छ, जनतालाई के–के दिन्छ ? जनता र गणतन्त्रबीच मेल हुन सकेन । केही नेताहरुले सिङ्गो व्यवस्थालाई सेटिङमा चलाउने र दुरुपयोग गर्ने अवस्थामा पुर्याए । अहिलेको दलतन्त्रले भ्रष्टाचार गर्ने र राज्यसत्तालाई दुरुपयोग गर्ने अबस्थामा पुर्यायो । त्यसैले गणतन्त्रमाथि प्रश्न उठिरहेको छ,’– उनले भने ।
साथै, जनता र मुलुकलाई गणतन्त्रले कुनै पनि उलब्धी दिनै नसकेको उनको जिकिर छ । जनताहरु नेता, दल र अहिलेको राज्य व्यवस्थाप्रति नै सन्तुष्ट नरहेको उनको दाबी छ । दलहरु डेमोक्रेशीको मूल्य र मान्यताभित्र पनि नबसेको र सेटिङमा राज्यसत्ता कब्जा गरेर त्यसको दुरुपयोग गरिरहेको उनको आरोप छ । वरिष्ठ अधिवक्ता भण्डारीले नेताहरुले पार्टीलाई प्राइभेट कम्पनीको रुपमा परिणत गरिसकेको बताए ।
त्यस्तै, अहिलेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रबाट पनि परिवर्तनको सम्भावना नरहेको उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले पूर्व पञ्चहरुलाई प्रयोग गरेर आफैंलाई कमजोर बनाएको र जनताको सपोर्ट पनि गुम्दै गएको उनको टिप्पणी छ । पूर्व राजा ज्ञानेन्द्रले पूर्व पञ्चहरुलाई अगाडि सार्दा देशमा राजसंस्थापुनर्स्थापना हुने सम्भावना कमजोर धुमिल हुँदै गएको भण्डारीको बुझाइ छ ।
‘राजाले पनि परिवर्तनको नायकको रुपमा हिजोको पूर्व पञ्चहरुलाई अगाडि सारे । के पूर्व पञ्चबाट यो मुलुकमा परिवर्तन सम्भव छ ? हामीले खोजेको परिवर्तन पूर्व पञ्चले ल्याउने परिवर्तन हो । राजा आफैंले पनि यतिधेरै गल्ती गरे कि जनताहरुको सपोर्ट थियो, त्यो जनताको सपोर्टलाई पनि उनले ठीक ढंगले प्रयोग गर्न सकेनन् । त्यसैले राजा आउने अवस्था पनि एकदमै धुमिल र कमजोर भएर गएको छ,’– उनले भने ।
उनले अहिले सडकबाट राजा आउन सक्ने सम्भावना पनि नरहेको र पूर्व पञ्चहरुसँग कुनै आईडीओलोजी नै नरहेको दाबी गरे । ‘किनकी पूर्व पञ्चसँग कुनै आइडिलोजी पनि छैन, कुनै पोलिटिकल थट पनि छैन र जुन दिन पञ्चायत सकियो, त्यसको भोलिपल्टबाट कोही पञ्च पनि बाँकी रहेन । तिनै अवसरवादीहरुलाई अगाडि सारेर, राजा पछाडि बसेर म यो गणतन्त्रलाई परिवर्तन गर्छु भन्नु दिवास्वप्नमात्रै हो,’– उनले भने ।
अब एक्लाएक्लै भएर अहिलेको समस्यालाई समाधान गर्न नसकिने उनले बताए । अब देशलाई माया गर्न व्यक्तिहरु एक ठाउँमा उभिएर मिसन २०८४ को एजेण्डा नभएर मिसन इलेक्सनको एजेण्डा अगाडि बढाउनु पर्ने बताए । अहिलेका ठूला दल र नेताहरुलाई निर्वाचनको माध्यमबाट नै परास्त गर्नुपर्ने उनको धारणा छ । ‘अब हामीले विकल्प खोज्ने बेला आएको छ, अबको विकल्प भनेको राजतन्त्र पनि होइन, अहिलेको गणतन्त्र पनि होइन । त्यो विकल्पभित्र डेमोक्रेटिक स्टक्चरभित्र जनताहरुले मुनाफा पाउने र गुणस्तरीय जीवन पाउने किसिमको व्यवस्था दिनुपर्ने अवस्था छ,’– उनले भने ।




प्रतिक्रिया