नेपालमा दलतन्त्र हाबी छ, अढाइ करोड जनताले तिरेको कर ५० लाखले लुटेर खान्छन्ः प्रा.डा.न्यौपाने


काठमाडौं, १५ जेठ । आज १८औं गणतन्त्र दिवस । गणतन्त्र दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) ले ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तर्क्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्राध्यापक, कानूनविद र नागरिक समाजको तर्फबाट सहभागिता रहेको थियो ।

अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले अब मुलुक गणतन्त्रबाट बाहिर जान नसक्ने बताए । उनले हजारौंको बलिदानीबाट आएको गणतन्त्र सडकमा दुई चार जनाले सडकमा नाराबाजी गर्दैमा कतै पनि नजाने दाबी गरे । ‘यो देश गणतन्त्रबाट बाहिर जान सक्दैन । हजारौंको बलिदानीबाट आएको गणतन्त्र दुई चार जना मान्छेले सडकमा नारा जुलुस गर्दैमा काहीँ जाँदैन । हामी गणतन्त्रका स्वतन्त्र नागरिक हौं, कसैका दास होइनौं, कसैका रैती हैनौं,’– उनले भने ।

उनले अमेरिकी र युरोपियनहरुले ३ सय वर्षदेखि गणतन्त्रको अभ्यास गरेको स्मरण गराउँदै नेपालका लागि नयाँ रहेको र सुरुवातीमा देखिएका कमीकमजोरीलाई सुधार गर्दैै लानुपर्ने बताए । उनले राज्य सञ्चालनमा लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम व्यवस्था भएको बताए ।

मार्क्सवाद, लेनिनवाद र माओत्सेका किताब पढेर, वीपीका पुस्तक कण्ठ गरेर, पुष्पलालको कम्युनिष्ट घोषणापत्र पढेर अबको गणतन्त्र नचल्ने उनले बताए । अर्थविद डा.न्यौपानेले अहिले देशमा दलतन्त्र नै हाबी रहेको बताए । दलतन्त्रकै कारण अढाइ करोड जनताले तिरेको करमा ५० लाख मानिसहरुले लुटेर खाइरहेको उनको आरोप छ ।

‘५० लाख मानिसहरुले नेपालमा काम नगरी लुटेर खान्छन् । तीनले काम गर्दैनन् । अढाइ करोड नेपालीले काम गर्ने, तीनले तिरेको करबाट ५० लाख मानिसले लुटेर खान्छन् । दलतन्त्र भनेको यही हो,’– उनले भने ।