काठमाडौं, १५ जेठ । आज १८औं गणतन्त्र दिवस । गणतन्त्र दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) ले ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तर्क्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्राध्यापक, कानूनविद र नागरिक समाजको तर्फबाट सहभागिता रहेको थियो ।
नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले गणतन्त्र तत्कालीन राजा ज्ञानेन्द्रको क्रुर शासनको विरुद्धमा भए पनि राजसंस्थाको विरुद्धमा स्थापना नभएको दाबी गरे । तत्कालीन समयमा कांग्रेसले ‘बेबी–किङ्ग’, माओवादीले नमुना राजसंस्था चाहेको र एमालेले त प्रधानमन्त्री बन्नका लागि विन्तिपत्र नै चढाएको दाबी गरे । राजसंस्था फाल्न नेताहरुले जालसाझी गरेको डा.दीक्षितको धारणा थियो ।
‘गणतन्त्रको जुन दिन घोषणा भयो नि, त्यो दिन मैले पनि घरमा बत्ति बालेको थिएँ । हामी सडकमा उत्रिएर गणतन्त्रका लागि लडेका थियौं । त्यो दिन ज्ञानेन्द्रको क्रुर शासनको अन्त्य थियो । समग्रमा भन्ने हो भने राजसंस्थाप्रति त्यो लक्षित थिएन । त्यसको विरोधमा त्यो थियो । त्यो बेलासम्म राजसंस्थाको कुरा गर्ने हो भने कांग्रेस ‘बेबी किङ’ को पक्षमा थियो । माओवादी पनि नमूना राजसंस्थाको वकालत गर्दै थियो । एमालेले पनि विन्तिपत्र चढाएर प्रधानमन्त्री हुन पाउँ भनेको अवस्था थियो । त्यसैले गणतन्त्र एजेण्डामा थिएन । ज्ञानेन्द्रको ‘कु’ को विरुद्धमा थियो,’– उनले भने ।
उनले गणतन्त्रको कुरा बङ्ग्याएर राजा फ्याक्ने काम भएको दाबी गरे । अहिले देशमा गणतन्त्र नभएर दलतन्त्र हाबी भइरहेको डा.दीक्षितको भनाइ छ । अहिले गणतन्त्र, जनतन्त्र र लोकतन्त्र केही पनि नरहेको केवल दलतन्त्रको दब्दवा रहेको दाबी गरे । नेपाली जनताले देशमा लोकतन्त्र चाहेको भएपनि २००७ सालपछि त्यसमाथि पटक–पटक आक्रमण भएको र अहिले लोकतन्त्र विलाउँदै गएको डा.दीक्षितले सुनाए ।
‘खास गरी २००७ सालदेखि नेपाली जनताले लडेको लोकतन्त्रको लागि हो । गणतन्त्रको लागि कहिले पनि थिएन । बारबार त्यो मासियो । लोकतन्त्र नभएको गणतन्त्र कुनै मतलब नै छैन । यो त कम्युनिष्ट स्टेट बनाउन खोजियो । गणतन्त्र शब्द थुपारिएको छ । तर, हाम्रो जग भनेको लोकतन्त्र हो । लोकतन्त्र नेपालमा धेरै फितलो, लोकतन्त्र छ कि छैन भन्ने प्रश्न उठिसक्यो । मैले हेर्दा अहिले लोकतन्त्र बिलाउँदै गएको छ । हरेक नेताको मुखमा गणतन्त्र छ । लोकतन्त्र नभएको गणतन्त्र हामीलाई स्वीकार्य छैन । विलकूल गलत दिशामा नेपाल गएको छ । नेपालमा लोकतन्त्र मासिइसकेको छ,’– उनले भने ।
नेपालमा अहिले सुशासन नभएर कुशासनको राज रहेको बताए । आज गणतन्त्र दिवसको दिन बत्ति बाल्नेभन्दा पनि निभाउनेको संख्या धेरै हुने उनले बताए । नेपालका बिस्तारै क्रुर शासनको अभ्यास हुन थालेको बताए । २००७ सालदेखि यही शासन चल्दा नेपाली जनता डुब्दै गएको उनले बताए । नागरिक समाजका अगुवा दीक्षितले २००७ सालदेखि अहिलेसम्म भएको गल्तीहरु केलाएर संसदीय व्यवस्थाबाट देशलाई बाहिर निकाल्नुपर्ने उनले बताए । उनले वामपन्थीहरुलाई ‘वामपुड्के विचार भएका नेता’ को संज्ञा दिए । उनीहरुले नेपालमा प्राप्त भएको उपलब्धीलाई धान्न नै नसकेको दीक्षितको बुझाइ छ । संसदीय व्यवस्थाले भ्रष्टाचारलाई बढवा दिएको उनको दाबी छ । यही व्यवस्था रहिरहे अबको १० वर्षमा देश टुक्रिने अथवा देश विदेशीको गुलाम बन्नुपर्ने अवस्था आउने उनको दाबी छ ।
‘अब हामी अर्को व्यवस्थातिर जान पर्यो । यसको लागि बुद्धिजीवीले पनि वकालत गर्नुपर्यो । यही संसदीय व्यवस्था ठीक छ भन्नुहुन्छ भने कसरी सपार्ने ? होइन भने अर्को व्यवस्थामा जाऔं । संसदीय व्यवस्था हाम्रो लागि अभिश्राप भइसकेको छ । अब हामी देशव्यापी चुनिएको व्यक्तितिर जानुपर्छ,’– उनले भने, ‘संसदीय व्यवस्थामा हामी रह्यौं भने अबको १० वर्षमा नेपाल नेपाल रहँदैन, टुक्रिन्छ या विदेशीको गुलाम हुनुपर्छ । नेपाल ऋणमा चुर्लुम्म डुब्यो ।’
उनले यही व्यवस्थामा आगामी २०८४ मा निर्वाचन हुन नहुने उनले बताए । डा.दीक्षितले २००७ सालदेखि नै यो व्यवस्था असफलतातिर धकेलिइरहेको बताउँदै अब राजनीतिक दल र नेताहरुले विकल्प दिनसक्नुपर्ने बताए ।
आजको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशता लादिरहेको, कांग्रेस सभापति शेरबहादुर देउवा कम्युनिष्ट बनिसकेको, कांग्रेस आजको दिनमा भाइ कम्युनिष्ट भइसकेको उनको टिप्पणी छ । डा.दीक्षितले आजको दिनमा एमाले कांग्रेस वा माओवादी कांग्रेस भनेर कांग्रेसलाई सम्बोधन गरिँदा न्याय हुने बताए ।
आजको दिनमा विश्वेश्वर प्रसाद कोइराला, महेन्द्र नारायण निधि, गणेशमान सिंहले परिकल्पना गरेको कांग्रेस नरहेको बताए । तत्कालीन समयमा कांग्रेस लोकतन्त्रको पिल्लर भएपनि आज विलाएर गएको र जेनतेन शेखर कोइरालाले धानेर बसेको उनले बताए । ‘देउवा कम्युनिष्ट भइसके, यहाँ त देश नै कम्युनिष्ट भइसकेको छ । यसबाट हामीले उम्किने कसरी ? नत्र भने नेपाल खत्तम हुन्छ,’– उनले भने ।




प्रतिक्रिया