नारायणगढ (चितवन), १५ जेठ । गणतान्त्रिक व्यवस्थाको उपभोग गरी यसको फाइदा लिन आवश्यक रहेको वक्ताहरुले बताएका छन् । आज यहाँ भएको प्रजातान्त्रिक विचार समाज चितवनको २६औँ साधरणसभा एवं गणतन्त्र, संविधान र वर्तमान राजनीति विषयक वैचारिक कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।
नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले देशमा गणतन्त्र आएपछि धेरै कुरामा विकास भएको बताएका छन् । उनले अहिले व्यवस्थाप्रति निरासाको भ्रम छरिएको भन्दै जनतामा निरासा चिरेर आशा जगाउनुपर्ने बताए । उनले गणतन्त्र आएपछि धेरै कुरामा उपलब्धि भएको र यसको संस्थागत गर्नका लागि सबै तहबाट लाग्नुपर्ने बताए ।
समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले विचार समूहले दिएको विचार तथा सुझावको कार्यान्वयन नेत्तृत्व वर्गले गर्नुपर्ने बताए । उनले अहिलेको व्यवस्थालेनै सम्पूर्ण वर्गको हित गर्ने हुँदा अन्य व्यवस्था खोज्नु नपर्ने बताए । उनले लोकतन्त्र तथा गणतन्त्रको कमजोरीहरुको सुधार गरेर जानपर्ने उल्लेख गरे । समयअनुसार समाजको आवश्यकता र अपेक्षा अनुरुप संविधानको संशोधन गरी हालको व्यवस्थालाई दिगो बनाउन पर्ने उनको भनाइ थियो ।
समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिहं केसीले बौद्घिक वर्गहरुले प्रजातन्त्रको संरक्षण गर्दै गणतन्त्रलाई सशक्त बनाउन विचारलाई संस्थागत र सङ्गठित बनाएर लैजानुपर्ने बताए । उनले अहिलेको व्यवस्था खराब नभएको तर केही पात्रहरु सुध्रिन आवश्यक भएको औँल्याए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले अग्रजहरुको विचारको अभिलेखीकरण गर्नका लागि आफूहरुले थालनी गरेको बताए । उनले अग्रजहरुको बिचार र दृष्टिकोणलाई अभिलेखीकरण गरी नयाँ पुस्ताका लागि मार्गदर्शन गर्न आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद लौडारी, सदस्य देवीप्रसाद कँडेल, पूर्वजिल्ला अध्यक्ष हरिराज पौडेल, नेपाल शिक्षक महासङ्घ चितवन अध्यक्ष शिवराम अधिकारी, शैक्षिक व्यक्तित्व कृष्णप्रसाद न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा नेपाली कांग्रेस चितवनले हालै सञ्चालनमा ल्याएको अनलाइन पत्रिकाको समेत शुभारम्भ गरियो । साथै लोकतान्त्रिक योद्घा प्रा डा यज्ञ अधिकारीलाई सम्मान गरियो । रासस




प्रतिक्रिया