सरकारप्रति जनतामा बढेको असन्तुष्टिलाई राजावादीहरुले क्यास गर्न खोजे, यथार्थतामा जनता गणतन्त्रबाट निराश भएका होइनन्ः प्रचण्ड


काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता गणतन्त्रबाट निराश भएको भन्ने भाष्य गलत रहेको बताएका छन् । आज (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाली जनताले गणतन्त्रबाट नै आम नागरिकको जीवनमा परिवर्तन आओस् भन्ने चाहना राखेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आफूले तराईमा झण्डै एक करोड मान्छेसँग भेटघाट गरेरको र मध्यपहाडी लोकमार्गअन्तर्गत पनि लाखौं जनतासँग भेटेर फर्किएको बताउँदै यथार्थतामा गणतन्त्र कमजोर भयो भन्ने भाष्य विलकुल गलत रहेको दाबी गरे । अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गलत काम कारबाहीको कारण जनतामा निराशा बढेको भने स्वीकार गरे । राजावादीहरुले वर्तमान सरकारको गलत क्रियाकलापबाट फाइदा उठाउँदै जनतामा बढेको असन्तुष्टिलाई क्यास गर्न खोजेको उनको आरोप छ ।

‘सरकारको नेतृत्व गर्ने पार्टीका कतिपय गलत काम कारबाहीको बारेमा नेतृत्वप्रति बितृष्णा जनतामा भएको छ । अझ पछिल्लो अहिलेको सरकार जो छ, त्यो सरकारको गलत क्रियाकलाप भ्रष्टाचारको बारेमा या सुशासनको बारेमा, सामाजिक न्याय र विभेदको बारेमा सरकारको गलत कामका कारणले मान्छेमा सरकारप्रति रुष्ट त भएकै छन् । त्यो सरकारप्रतिको असन्तुष्टिलाई राजावादीहरुले क्यास गर्न खोजेका छन्,’– उनले भने ।