सरकारले सन्तुलनको दृष्टिकोणले ज्यादै अनुपयुक्त र खराब बजेट ल्यायोः पूर्व मुख्यसचिव कोइराला


काठमाडौं, १६ जेठ । पूर्व मुख्यसचिव डा.विमल कोइरालाले सरकारले आगामी आर्थिक वर्ष २०८०/०८३ को लागि ल्याएको बजेट विनियोजनको दृष्टिकोणले खराब रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विनियोजनको दृष्टिले बजेट खराब रहेको र आकारको हिसाबले नक्कली रहेको बताएका हुन् ।

‘विनियोजनको दृष्टिकोणले हेर्ने हो भने यो बजेटलाई राम्रो भन्न मिल्दैन । जत्रो आकारको बजेट छ, त्यो बजेट चाहीँ अलि नक्कली देखिन्छ । त्यो पैसा उठ्दैन । हाम्रो आय कम, खर्च बढी हुने हुनाले यो असन्तुलित वित्त । सन्तुलनको दृष्टिकोणले यो ज्यादै अनुपयुक्त र खराब हो,’– उनले भने ।

सुशासन र भ्रष्टाचारको कुरामा बजेट अग्रगामी भएर आउन नसकेको उनको दाबी छ । पूर्व मुख्यसचिव कोइरालाले लगानी वृद्धिको कुरामा भने बजेट केही हदसम्म सन्तोषजनक नै रहेको बताए । नीतिगत सुधारको कुरामा पनि बजेटले राम्रो नै बोलेको उनले बताए । पूर्व मुख्यसचिव डा.कोइरालाले बजेटले निजी क्षेत्रले लगानी गर्ने कुरामा बजेटले चासो देखाएको बताउँदै उनले कार्यान्वयनको पक्षमा भने आशंका गर्ने ठाउँ रहेको सुनाए ।