बजेटले समस्याको उजागर गर्यो, समाधान दिन सकेन, फजुल खर्च कटौती पनि भएनः एमाले नेता खनाल (भिडिओसहित)


काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का नेता एवं अर्थविद् डिल्लीराज खनालले सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको बजेटमा समस्याको उजागर गरिएको भएपनि समाधानको पाटो प्रष्ट नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नीति, कार्यक्रम र कार्यान्वयन पक्षसँग जोडेर बजेट ल्याउन नसकिएको बताएका हुन् ।

‘जुन ढंगले बजेटले समस्याहरुलाई उजागर गरेको छ, त्यहीअनुरुप समस्यालाई नीति, कार्यक्रम, कार्यान्वयन पक्षसँग जोडेर बजेट ल्याउनुपर्थ्यो । त्यसमा चाहीँ कमीकमजोरी रहेका छन् भन्ने मलाई लाग्छ,’– उनले भने ।

साथै, १३ खर्ब १५ अर्ब राजश्वको लक्ष्य रहेको भएपनि त्यो लक्ष्य पूरा गर्न गाह्रो रहेको बताए । बजेटले आन्तरिक राजश्व बृद्धिमा प्रयास नगरेको, विभिन्न छुट, सुविधालगायतका विषय बजेटमा समावेश गरिएकाले प्रक्षेपण गरिएको राजश्व नउठ्ने सम्भावना प्रवल रहेको उनले बताए ।

तुलनात्मक रुपमा बजेटको आकार भने यथार्थपरक ढंगबाट आउने प्रयत्न भएको उनको भनाइ छ । अहिले अर्थतन्त्रमा देखापरेका समस्यालाई पुनररुत्थान गर्ने गरी बजेट ल्याइएको उनको दाबी छ । नेता खनालले उद्योग व्यवसाय र निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी बजेट आएको बताए । बजेट प्रणालीभित्र रहेका समस्या समाधान गर्न र कार्यान्वयनको सुनिश्चितता लगायतको कुरालाई बजेटले सम्बोधन गर्न खोजेको उनले बताए । बजेटमा फजुल खर्च कटौतीसमेत नभएको उनको आरोप छ । अर्थविद् खनालका अनुसार अहिले तीन खर्बभन्दा बढी फजुल खर्च कटौती गर्न सकिने अवस्था रहेको छ ।

‘जुन ढंगले बजेट प्रणालीमा समस्या र चुनौतिहरु छन्, जटिलताहरु छन्, ती जटिलताहरुलाई चिर्नेगरी हामीले सुझाव दिएका थियौं । त्यसको स्पिरिटमा आउनुपर्थ्यो, त्यो आएको छैन । खर्च कटौती पनि, तीन खर्बभन्दा बढी अनुत्पादक फजुल खर्च कटौती गरेर पुँजीगतमा लगाउन सकिन्छ भन्दै आएको छु । कटौती गरेर आउनुपर्थ्यो । त्यो रुपमा कटौती भएको देखिँदैन,’– उनले भने । File Photo/RN