राजावादीहरुको ‘थ्रेट’ लाई मैले रौं बराबर पनि ठानेको छैनः प्रचण्ड (भिडिओसहित)


काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तत्कालीन समयमा जनताले उदारतापूर्वक सामान्य नागरिकको रुपमा जीवन बिताउने गरी देशमै बस्न छुट दिएको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रचण्डले ज्ञानेन्द्रले जनताको उदारतालाई कमजोरी ठानेको खण्डमा सिद्धिने बताएका छन् । पूर्वराजाले सक्रिय हुने मुर्खता नगरेकै राम्रो हुने उनले बताए । गणतन्त्र घोषणा हुँदै गर्दा केही राजनीतिक दल र नेताहरुले ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्छ भन्दा आफूहरुले साधारण नागरिकको रुपमा बस्छन् भने बस्न दिनुपर्छ भनेर त्यो बेलामा छुट दिएको उनले स्मरण गराए । उनले राजावादीहरु र ज्ञानेन्द्र शाहको थ्रेटलाई रौं बराबर पनि नठानेको बताए ।

‘सकृय भएभने सिद्दिन्छन् तिनी । यिनलाई नेपाली जनताले उद्दारतापूर्वक बस्न दिएको हो । ज्ञानेन्द्र फेरि राजा बन्न असम्भव, म हेरौंला । यो असम्भव कुरा हो । नेपाली जनताको चेतना कुनै हालतमा पनि राजतन्त्रको पक्षमा जान सक्दैन । मैले त यो मुर्खता नगरे हुन्थ्यो भनेर तराईमा हुँदै ज्ञानेन्द्र शाहलाई सुझाव दिएको थिए । जनताको उदारतालाई कमजोरी ठानेर यो हर्कत गरियो भने जनता सधैं उदार हुँदैनन् है । यो कुरा ख्याल गरिराख्नु । यहाँका दलित, महिला, आदिवासी, मधेशी, मुस्लिम जागिसकेका छन्,’ उनले भने, ‘सक्छन् ज्ञानेन्द्रले तिनलाई रोक्न ? यो मुर्खता नगरे हुन्थ्यो भन्ने हो । त्यतिबेला संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुँदैगर्दा म र गिरीजाप्रसाद कोइराला जसले हस्ताक्षर गरेर यो प्रक्रिया आयो । हामी दुवै जना र अन्य सबै राजीतिक दलले के गर्ने त, किनभने एकथरी त कारबाही गरिहाल्नुपर्छ भन्ने पनि थियो ज्ञानेन्द्रलाई । अहिले त्यसो नगरौं, यदि उनी दरबार छाडेनर नागरिकको जीवन बिताउन चाहन्छन् भने दिनुपर्छ भनेर निर्णय गरेर दिएको हो । उनले गरेको थ्रेटलाई मैले रौं बराबर ठानेको छैन ।’

ज्ञानेन्द्र र राजावादीहरुले मुर्खता गर्दै गएको खण्डमा फेरि एकचोटी दरबार हत्याकाण्डको छानविन हुने प्रचण्डको चेतावनी रहेको छ । ‘यही तरिका राजावादीहरुले अपनाउँछन् भने त्यो दिन छिट्टै आउन सक्छ,’– उनले भने । वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डमा बारे सोधिएको प्रश्नमा प्रचण्डले आम नेपाली जनताले त्यसको दोषी ज्ञानेन्द्रलाई नै भनिराखेको बताए । आफूले यसबारेमा हजार पटक भनिसकेको पनि प्रचण्डले सुनाए । ज्ञानेन्द्रले धेरै ताउरमाउर गरेको खण्डमा उनलाई सरकारले उपलब्ध गराएको सुरक्षा खोसिने, नजरबन्दमा राखिनेदेखि आवश्यक पर्यो भने जेल हाल्नेसम्मको कारबाही गरिने उनले बताए ।

‘मैले त हजार पटक भनिसकेको छु । नेपाली जनताको मनमा सबैलाई त्यही छ । त्यो कुरा जनताले बुझिसकेको छ । मैले धेरैचोटी भनिसकेको छु । धेरै चलखेल नगरे हुन्छ राजावादीहरुले । हामीले त भनिसकेका छौं, संविधानको मर्म र भावना विपरीतको गतिविधि गरेभने उनलाई कारबाहीको दायरामा ल्याउने हो,’– प्रचण्डले भने ।