मानवअधिकार आयोगले सचेत गराएपछि प्रधानमन्त्री ओली वार्षिकोत्सवमा सहभागी हुनुभएनः शेखर कोइराला

सरकारले गलत गरेको कामलाई कांग्रेसले गलत भन्न नसकेको शेखरको आरोप


काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले गलत गरेकोमा पनि पार्टीले गलत भन्न नसकेको बताएका छन् । आज (शुक्रबार) प्रजातन्त्र सेनानीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा छौं भनेर सबै गलत कुरालाई स्वीकार गर्न नसक्ने बताएका हुन् । नैतिकताको धरातल कमजोर बनाएर राजनीति गर्न नहुने उनले बताए । असल र खराब छुट्याउन नसक्नेहरु विश्वेश्वर प्रसाद कोइरालाको अनुयायी हुनै नसक्ने उनले बताए । जनताले केही नमागे पनि कांग्रेस उनीहरुबाट निकै टाढा हुँदै गएको नेता कोइरालाको टिप्पणी छ । जनताको घरमा जाने र उनीहरुको दुःख सुख सुन्ने फुर्सद छैन भने राजनीति गर्न नहुने उनले बताए ।

‘हामी कुन बाटोमा हिँड्दैछौं ? किन सरकारले गलत गरेको कामलाई हामीले गलत भन्न सकिरहेका छैनौं ? के कारण हो ? खाली हामी सरकारमा छौं भनेर नबोल्ने हो त ? मेरो आफ्नो विचार के छ भने हामी सरकारमा छौं । तर सत्तामा छैनौं । राज्यको सत्ता बेग्लै कुरा हुन्छ, सरकार बेग्लै कुरा हो । मन्त्रीहरुले सहकार्य गरुन्,’ उनले भने, ‘तर, हामी जो बाहिर बसेका छौं, असललाई असल काम भनौं । खराबलाई खराब काम भनौं । गलत भन्नै नसक्ने हो भने हामी वीपीका अनुयायी हुँदैनौं, कांग्रेसका कार्यकर्ता हुँदैनौं । वीपीले गलत कुरालाई टुलुटुलु हेरेर बस्नेहरु दास हुन् भन्नुभएको थियो । त्यो कुरा तपाईँहरुले सम्झिनुस् । अत्यन्त पीडा भएर मैले तपाईँहरुमाझ बोलेको ।’

आफूले सबै जना प्रजातान्त्रिक, लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएर अगाडि बढौं भन्ने चाहेको उनले सु्नाए । उनले नेता तथा कार्यकर्तालाई गलत काम नगर्न र सही काम गर्न सकिँदैन भने घरमै चुप लागेर बस्न आग्रह गरे । दिनानुदिन भ्रष्टाचारले अप्ठ्यारो नपारोस्, दण्डहीनताले अप्ठ्यारो नपारोस्, सुशासन दिन सकियोस् भनेर आफूले दिनानुदिन खबरदारी गरिरहेको उनले बताए । नेता कोइरालाले नेता तथा कार्यकर्ताले आफ्नो आचरण बदल्न आवश्यक रहेको बताए । नेता तथा कार्यकर्ता आचरणमा रहेनन् भने जतिसुकै प्रजातन्त्रको कुरा गरेर केही फरक नपर्ने बताए ।

‘प्रजातान्त्रिक संस्कारको निम्ति, आचरणको निम्ति, मूल्य मान्यताको निम्ति एकपटक हामी फेरि लड्नुपर्ने आवश्यकता मैले देखेको छु । नेपाली कांग्रेसका साथीहरु, नेताहरुले मलाई सधैं एउटा कुराले घोचिराखेको हुन्छन् । के घोच्छन् भने शेखर खाली खोटमात्रै देखाइरहन्छ भन्छन् । मैले कसैलाई व्यक्तिगत हिसाबले खोट देखाउन खोजेको होइन । मैले खाली तपाईँ हामी सबै प्रजातान्त्रिक लोकतान्त्रिक आचरण मूल्य मान्यतामा आधारित भएर अगाडि बढौं भनेको मात्रै हो,’– उनले भने ।

नेता कोइरालाले केही दिन पहिला बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा सरकारले गरेको गलत कामकारबाहीको समीक्षा हुनुपर्नेमा आफ्नो बारेमा चर्चा भएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ गते काठमाडौं एमालेको कब्जामा हुनुपर्छ भनेपछि आफूले त्यसको प्रतिकार गरेको पनि उनले सुनाए । प्रधानमन्त्रीले यसरी बोल्न हुँदैन थियो भनेर मानवअधिकार आयोगले सचेत गराएको कारण प्रधानमन्त्री ओली आयोगको वार्षिकोत्सवमा सहभागी नभएको नेता कोइरालाको आरोप छ ।

‘केही दिन पहिला पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बस्यो । एमालेले १५ गते काठमाडौं क्याप्चर गर्नुपर्छ भन्यो । मैले त त्यो सुन्नेबित्तिकै विरोध गरेँ । के भन्न खोजेको देशको प्रधानमन्त्रीले भनेर । मैले विरोध गरेको त त्यसको माने राख्दैन । राष्ट्रिय मानवअधिकार आयोग जसलाई संवैधानिक अधिकार दिएको छ । उहाँहरुले पनि वक्तव्य जारी गरेर प्रधानमन्त्रीले यसरी बोल्न हुँदैन थियो भन्नुभयो । प्रधानमन्त्रीजी त्यहाँ जानुपर्ने थियो १४ गतेको दिन । उहाँहरुको वार्षिक उत्सव हुन्छ । उहाँले बहाना बनाएर जानुभएन । प्रधानमन्त्रीजीलाई फुर्सद भएन भनियो । राष्ट्रिय मानवअधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिराखेका छौं ? मलाई त लागेको थियो, हाम्रो दाधिकारी बैठकमा यी विषयमा छलफल हुन्छ भनेको त मलाई हाँसो पो त लाग्यो । मेरो विषयमा छलफल भएछ । ठीकै छ सहनुपर्छ । राजनीतिमा सहनशीलता नभएन भने पनि केही हुँदैन,’– उनले भने ।