काठमाडौं, १६ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा निषेधित क्षेत्र घोषणा गरिएको हो । उक्त क्षेत्रमा भोलि (जेठ १७ गते) देखि लागू हुनेगरी असार २४ गतेसम्मका लागि निधेषित क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्रमा उक्त अवधिभर ५ जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता कार्य गर्न रोक लगाइएको छ ।
राजावादी समूहले हिजोदेखि काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । उनीहरुले संवैधानिक राजसंस्था, हिन्दुराज्य र संघीयता खारेजीलाई आफ्नो एजेण्डा बनाइरहेका छन् । राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन नछाड्ने राजावादीहरुको अडानको बावजुद सरकारले सम्भावित दुर्घटना रोक्न सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।




प्रतिक्रिया