काठमाडौं, १७ जेठ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको घाँटी छिनालेको आरोप लगाएका छन् ।
०७४ जेठमा तत्कालिन प्रचण्ड सरकारले तरवार छलाएर घाँटी रेट्न सुरु गरिएको उक्त राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले यो वर्षको बजेट वक्तव्यको बुँदा २२४ मार्फत कथित सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ भनेर पूरै घाँटी छिनालेको आरोप लगाएका छन् ।
उनले यो देश र जनतामाथिको अक्षम्य अपराध र धोका भएको टिप्पणी गरेका छन् । उक्त आयोजना देशको बहुआयामिक आर्थिक रुपान्तरणको लागि गेमचेञ्जर आयोजना भएको पनि बताएका छन् । भट्टराईले फेशबुकमा लेखेका छन्–
अन्तत: राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको छ। २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरवार चलाएर घाँटी रेट्न शुरू गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/०८३ को बजेट-बक्तव्य (बुँदा २२४) मार्फत कथित “सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ” भनेर पूरै घाँटी छिनालेको छ।
यो देश र जनतामाथि अक्षम्य अपराध र धोका हो। देशको बहुआयामिक आर्थिक रूपान्तरणकालागि गेमचेन्जर आयोजनाको रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले म यो सरासर वदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गर्दछु। भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौंदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनकालागि पूर्ण सहयोग गर्दै आउनुभएका गोरखा र धादिंगको प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यवद्धता व्यक्त गर्दछु।
यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न म प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसंग हार्दिक अपील गर्दछु।




प्रतिक्रिया