काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच करिब एक वर्षपछि भएको भेटवार्ताले पार्टीको आन्तरिक राजनीतिमा तरङ्ग पैदा गराएको छ । महामन्त्री थापाले हिजो (शुक्रबार) बिहान डा.कोइरालाको सचिवालय बालुवाटार पुगेर भेटवार्ता गरेका थिए ।कांग्रेसको १४औं महाधिवेशनमा कोइराला सभापति र थापा महामन्त्रीमा एउटै प्यानलबाट उठेका थिए । सबैभन्दा लोकप्रिय मत ल्याएर थापा महामन्त्रीमा निर्वाचित भए । तर, शेखरले भने पराजय व्यहोर्नुपर्यो ।
गत २०७९ को प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता चयनका लागि कांग्रेसमा मतदान भयो । सो क्रममा नेता कोइरालाले गगनलाई साथ दिए । तर, संसदीय दलको नेतामा महामन्त्री थापाले सभापति शेरबहादुर देउवासँग हार व्यहोर्नुपर्यो । त्यसपछि क्रमशः टाढिँदै गएका शेखर–गगन फेरि एउटै कित्तामा उभिने जमर्को गरिरहेका छन् ।
नेताद्वयबीच कोइराला र थापाबीच करिब ११ महिनापछि हिजो भेट भएको हो । सो भेटका क्रममा उनीहरुले करिब २ घण्टा लामो छलफल गरेको स्रोतले बतायो । उनीहरुबीच सरकारले सोचेअनुरुप काम गर्न नसकेको, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि निरीह देखिएको लगाएतका विषयमाथि छलफल भएको बताइएको छ । त्यस्तै, सबैभन्दा धेरै समय नेताद्वय कोइराला र थापाले पार्टीको आन्तरिक राजनीतिबारे छलफल गरेर बिताएका थिए । उनीहरुको छलफल १५औं महाधिवेशन केन्द्रीत रहेको थियो । कांग्रेसको १५औं महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्ने हुन्छ । कानूनतः एक वर्ष म्याद थप गरेर महाधिवेशन धकेल्न सकिने व्यवस्थासमेत छ । उक्त व्यवस्था प्रयोग गरेर देउवाले अझै एक वर्ष सभापति चलाउने धेरैको अनुमान छ ।
डा.कोइरालानिकट मानिने नेता डा.गोविन्द पोखरेल शेखर–गगन मिलेर अगाडि बढ्नुको विकल्प नै नरहेको बताउँछन् । नेता पोखरेल १५औं महाधिवेशनमा गगनले शेखरलाई सभापति बनाउन सहयोग गर्ने र १६औं महाधिवेशनमा गगन आफैं सभापति बन्ने कुरा राम्रो हुने बताउँछन् । पार्टीमा उत्साह भर्न र युवाहरुलाई आकर्षित गराउनका लागि शेखर–गगनको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । नेता पोखरेलले शेखर–गगनले व्यक्तिगत राजनीति भन्दा पनि देश र पार्टीका लागि राजनीति गर्नुपर्ने बताए । पार्टीको १४औं महाधिवेशनमा पनि शेखर–गगन मिलेर अगाडि बढेको बताउँदै उनले अब पनि सहकार्य हुने विश्वास व्यक्त गरे । पार्टीलाई बलियो बनाउन र देशलाई निकास दिनका लागि शेखर–गगन एउटै टिममा रहेर अगाडि बढ्नुपर्ने नेता पोखरेल बताउँछन् ।
‘बाहिर मान्छेले जे–जस्तो भने पनि नेपाली कांग्रेसलाई बलियो बनाउन र पार्टीलाई राम्रोसँग हाँक्नका लागि शेखर कोइराला र गगन थापा नमिली सुख नै छैन । व्यक्तिगत राजनीति होइन, यो पार्टीको र देशका लागि गर्ने राजनीति हो, त्यसकारणले उहाँहरु दुई जनाले सहकार्य गरेर अगाडि बढेपछि १५औंमा शेखर कोइरालालाई सभापति बनाउने, १६औंमा गगन थापालाई सभापति बनाउने । दुवै जना त्यसरी मिलेर जानुभयो भने पार्टीमा उत्साह पनि बढ्छ । पार्टीमा धेरै युवाहरु आकर्षित पनि हुन्छन् र कांग्रेसले फेरि पनि अवस्था परिवर्तनका लागि नेतृत्व दिन्छ,’– उनले भने ।




प्रतिक्रिया