काठमाडौं, १७ चैत । उद्योग बाणिज्य संघ कर तथा राजश्व समितिका सभापति अम्बिका पौडेलले सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘निजी क्षेत्र तुलनात्मक रुपमा खुसी नै छ अहिलेको बजेटलाई हेर्दाखेरी । खास गरेर यस बजेटले करको दरहरु धेरै चलाएको छैन । विगतका बजेटको तुलनामा करको दरहरु सन्तुलित छन् । नयाँ त्यस्तो धेरै कुराहरु नहुँदा पनि करको दरहरु प्रत्येक वर्ष चलिरहँदा व्यवसायीहरु अन्यौलको अवस्था रहन्थ्यो । अहिले त्यो देखिएको छैन ।’
सरकारले ल्याएको बजेटले निजी क्षेत्रले अब विदेशमा लगानी गरेर नेपाली ब्राण्डहरुलाई उता निर्यात गर्न सघाउ पुर्याएको, पर्यटन क्षेत्रमा पनि राम्रो सम्बोधन गरिएको उनले बताए । उनले बजेटले निजी क्षेत्र र पर्यटन व्यवसायलाई राहत प्रदान गरेको बताए ।
‘निजी क्षेत्रलाई सम्बोधन गर्ने कुरामा मैले हेरिरहँदाखेरी अलिबढी पर्यटन र प्रविधि क्षेत्रलाई फोकस गरिएको छ । विगतमा निजी क्षेत्रले उठाइरहेका मागहरु पर्यटन क्षेत्रलाई उद्योगसरहको मान्यता दिइयोस् भन्ने विषयलाई सम्बोधन गरेको छ । पर्यटन क्षेत्रले ठूलोमात्रामा विद्युत प्रयोग गर्छ । विद्युतको लागत घटाउने भन्ने कुरा आइरहेको छ । सु्स्ताएको पर्यटन क्षेत्रलाई केही हदसम्म राहत प्रदान गरेको छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया