ओली सरकारको केही हैसियत नै छैन, देश-दुनियाँमा एमालेको बेईज्जत भयो : प्रचण्ड


काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारसँग केही पनि हैसियत नभएको टिप्पणी गरेका छन् ।

आज (आइतबार) पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  उनले भने,‘राजावादीहरुको प्रतिवाद न वैचारिक रुपमा अरुले गर्छन्, वैचारिक प्रतिवाद गर्ने अरुसँग हैसियत छैन् । यो सरकारको त हैसियत नै छैन् । यो सरकारको इच्छाशक्तिपनि छैन्, हैसियत पनि छैन् । गफ हाँक्नेबाहेक केही नै छैन् । उनीहरुले गफ गरे, हामीले गफ नै नगरिकन एक लाख मान्छे उतारेर देखायौं । यिनीहरुले गफ गरे काठमाडौं कब्जा भने, लाजै मर्नु । उनीहरुले गफ गरे काठमाडौं कब्जाको, तर देश दुनियाँमा एमाले भन्ने पार्टीको यति बेईज्जत भयो, यस्ता छन् । यिनीहरुलाई केही मतलव छैन् । हामीले नै हो जिम्मा लिने । हामी सक्छौं ।’

उनले शान्तिपूर्ण प्रतिकारमा उत्रिन वाईसिएल पँक्तिलाई निर्देशन दिए । तर, आफूहरुमाथि कोही आइलागे भने ईंटको जवाफ पत्थरले दिनपनि उनले कार्यकर्ता पँक्तिलाई निर्देशन दिए । उनले भने,‘हामी छौं, जरुरी पर्यो भने जस्तोसुकै विद्रोह पनि गर्न सकिन्छ । यो अर्को क्रान्तिको तयारी हो भनेको छु ।’