काठमाडौँ, १८ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज सिन्धुलीमा निर्माणाधीन आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् ।
‘आयोजना निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउनुस्, तोेकिएकै समयमा सक्नेगरी लाग्नुस् । कार्यप्रगतिका आधारमा बजेटको व्यवस्था गर्छौं, त्यसको अभाव हुन दिँदैनौँ,’– मन्त्री खड्काले भने ।
आयोजनाको १३ दशमलव दुई किलोमिटर सुरुङ निर्माण सकिएकाले अब हेडवक्र्सको काम तीव्र गतिमा सक्न निर्देशन दिँदै उनले त्यसका लागि स्पष्ट खाका बनाएर लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिए । ‘काम गर्ने हामीले नै हो, अरूले होइन, लक्ष्य प्राप्ति गर्नका लागि काम गर्नुभएन भने सरकारले वैकल्पिक बाटो सोच्छ, यो सरकारको बाध्यता हो,’ ऊर्जामन्त्री खड्काले भने, ‘आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिँचाइ हुने र ३२ मेगावाट विद्युत् उत्पादन र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराइने छ । यो सिङ्गो मधेश र देशका लागि गौरवको आयोजना हो, त्यसले लक्ष्यलाई भेट्ने गरी काम गर्नुस् ।’




प्रतिक्रिया