यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं, जेठ १९ । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ । साथै, शुक्रबार नेपाल भित्रिएको मनसुनी वायुको प्रभाव अहिले कोशी प्रदेशका अधिकांश भू–भागमा रहेको महाशाखाले जनाएको छ ।

यसको प्रभावले कोशी प्रदेशका विभिन्न भूभागमा पछिल्लो ६ घन्टामा छिटपुटदेखि हल्का वर्षा भएको छ । महाशाखाका अनुसार मनसुन फैलिनका लागि उचित वातावरण नबनिसकेकाले कोशी प्रदेशबाट अन्य भूभागमा फैलिन सकेको छैन ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले वर्षाको अवस्था, हावाको दिशा, बादलको अवस्थाको विश्लेषण गरिसकेपछि मात्रै मनसुनको अवस्थाबारे सार्वजनिक गर्ने बताइन् । उनका अनुसार काठमाडौमा राम्रोसँग वर्षा नभएकाले हावाको गति र दिशा मनसुन अनुकूल छैन । त्यसकारण मनसुन प्रोग्रेस भएको छैन ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।