विश्वकप लिग-२ : आज स्कटल्याण्डसँग खेल्दै नेपाल


काठमाडौं, जेठ १९ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिज आजदेखि सुरू हुँदैछ । स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ ।

फोर्थहिल डुन्डीमा खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेदेखि सुरू हुनेछ । नेपालले सिरिजको दोस्रो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ । जुन ८ मा पुनः स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

लिग–२ को अंक तालिकामा नेपाल सबैभन्दा पुछारमा छ । नेपालले अहिलेसम्म खेलेका १२ मध्ये २ खेलमात्रै जितेको छ । २० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ भने २६ अंकसहित नेदरल्याण्ड्स दोस्रो र २४ अंकसहितथ ओमान तेस्रो स्थानमा छ । चौथो स्थानमा स्कटल्याण्ड छ भने समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ । त्यसपछि नामिबिया, युएई र नेपाल छन् ।